images
images

सबै दलको साझा उम्मेदवार’ दाबी गर्ने देवराज रोकासँग एमालेको कुनै सम्बन्ध छैन : एमाले उदयपुर

उदयपुर । यही २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुर जिल्ला कमिटीले केही व्यक्तिबाट भइरहेको भ्रमपूर्ण प्रचार–प्रसारप्रति गम्भीर आपत्ति जनाएको छ।
एमाले उदयपुरले जारी गरेको विज्ञप्तिमा उदयपुर निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारका रूपमा रहेका देवराज रोका (कल्याण) ले आफूलाई “सबै राजनीतिक दलहरूको साझा उम्मेदवार” भनेर सार्वजनिक मञ्च तथा सञ्चार माध्यममार्फत प्रचार गरेको विषयप्रति ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा देवराज रोका (कल्याण) नेकपा एमालेसँग कुनै पनि प्रकारको जिम्मेवारी, सदस्यता वा संगठित सम्बन्ध नरहेको स्पष्ट गरिएको छ। साथै विगत केही वर्षदेखि उनीसँग पार्टीको राजनीतिक, सांगठनिक तथा वैचारिक सम्बन्धसमेत नरहेको उल्लेख गरिएको छ।
पार्टीको नाम र प्रतिष्ठाको दुरुपयोग गरी आम मतदातालाई भ्रममा पार्ने गैरजिम्मेवार अभिव्यक्ति तथा गतिविधिप्रति सचेत रहन एमाले उदयपुरले मतदाता, शुभेच्छुक र समर्थकलाई आग्रह गरेको छ।
एमाले उदयपुरले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का एकमात्र सूर्य चुनाव चिह्न वाहक उम्मेदवार कम्रेड दुर्गा कुमार थापा (स्वस्ती) रहेको जानकारी पनि विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
पार्टीले भ्रमपूर्ण र योजनाबद्ध प्रचारमा विश्वास नगर्न आग्रह गर्दै पार्टीको आधिकारिक निर्णयअनुसार सूर्य चुनाव चिह्नमा मतदान गरी उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई आह्वान गरेको छ।
विज्ञप्तिमा नेकपा (एमाले) उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको हस्ताक्षर रहेको छ।