कटारी|सामुदायिक विद्यालयमा शिक्षा व्यवस्था प्रभावित भइरहेका बेला कटारी नगरपालिकाले शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्दै तुरुन्त पठनपाठनमा फर्कन आग्रह गरेको छ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभर सुरु भएको दबाबमूलक आन्दोलनले विद्यालयको कक्षा सञ्चालन प्रभावित पारिरहेको छ। सोही सन्दर्भमा कटारी नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रलाई थप असर नपार्न शिक्षकहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको हो।
नगर प्रमुख राजेश चन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “शिक्षा नीतिअनुसार गुणस्तरीय र व्यवस्थित विद्यालय शिक्षाका लागि हामी सबै प्रतिबद्ध छौं। तर पछिल्लो आन्दोलनले दैनिक कक्षा सञ्चालनमा अवरोध ल्याइरहेको छ, जसको प्रत्यक्ष असर समुदायका विद्यार्थीमा परेको छ।”

नगरपालिकाका अनुसार नयाँ शैक्षिक सत्र को प्रारम्भिक तयारी, शैक्षिक योजना निर्माण र शैक्षिक गतिविधिको समायोजनलगायतका कार्यहरू प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा लामो समयसम्म पठनपाठन ठप्प रहँदा विशेषगरी विपन्न र सीमान्तकृत समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
नगरपालिकाले आन्दोलनरत शिक्षकहरूलाई आफ्ना माग वैधानिक र संवैधानिक ढंगबाट सम्बोधन गर्न सकिने विकल्पहरू अपनाउन र विद्यार्थीको शैक्षिक भविष्यलाई केन्द्रमा राखेर आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेको छ।
नगर प्रमुख श्रेष्ठले शिक्षा प्रणालीको सुधारका लागि स्थानीय सरकार सदैव संवाद र सहकार्यको पक्षमा रहेको भन्दै पठनपाठन नियमित गर्न सम्पूर्ण विद्यालय प्रशासन, शिक्षक तथा सरोकारवालाहरूको सहकार्य अपेक्षा गरिएको उल्लेख गरेका छन्।
आन्दोलनको अधिकार शिक्षकहरूलाई संविधानले दिएको भए पनि त्यसको अभ्यास गर्दा विद्यार्थीको अधिकार नखोसिनेगरी जिम्मेवार व्यवहार देखाउनु पर्ने कटारी नगरपालिकाको भनाइ रहेको छ।


जनता भ्वाइस 








