images
images

युक्रेन युद्धमा मृत्यु भएका कटारीका ओमबहादुरको परिवारलाई न राहत , न क्षतिपूर्ति , परिवार पाल्नै समस्या

– ऋषि राई

कटारी / रुसी सेनामा भर्ति भएका श्रीमान ओमबहादुर मगरको रुस–युक्रेन युद्धमा मृत्यु भएपछी उदयपुरको कटारी , ५ की ३६ वर्षिया विन्दुकुमारी मगरलाई परिवार पाल्नै समस्या छ । ३९ वर्षिया श्रीमान ओमबहादुरको गएको वैशाखमा रुस–युक्रेन युद्धमा परेर मृत्यु भएको थियो ।“वैशाख २५ गते राति ८ बजे रुसबाट शंकर खड्काको फोन आयो उहाँको रुस– युक्रेन युद्धमा मृत्यु भएछ ।” विन्दुकुमारी मगरले भन्नुभयो ।
ओमबहादुरको मृत्यु भएको दुईदिन पछी साथी शंकर खड्काले विन्दुकुमारीलाई फोन गरेर जानकारी दिनुभएको थियो । त्यतिवेला सम्म विन्दुकुमारीलाई श्रीमानले ह्वाट्स एपमा फोन गर्ला भन्ने लागिरहेको थियो । “लाश आएको हैन मलाई त अभैm पनि फोन आउँछ जस्तो लाग्छ ह्वाट्स एप हेर्छु , छोरा छोरीसँग वोल्न पनि फोन गर्नुपर्ने हो भन्छु ।” श्रीमानको रुसमा मृत्यु भएपछी उहाँलाई तीन छोरी र एक छोराको पालन पोषण गर्न पनि समस्या हुँदै गयो ।
कटारीकै दलालले ओमबहादुरलाई रुस पठाईदिएका थिए । रुस पठाउँदा ९ लाख बढी ऋण लागेको थियो । “त्यो भन्दा अगाडिको पनि ऋणहरु भएकैले रुस जानुभएको हो अहिले झण्डै २५ लाख ऋण छ कसरी तिर्नु आप्mनो केहि छैन् ।”विन्दुकुमारीले भन्नुभयो ।
साहुहरुले पैसा माग्न थाले त्यसपछी ८ कक्षा पढ्दै गरेकी १६ वर्षिया छोरी अविशालाई आफन्तसँग दिल्ली पठाउनुभयो । “ठुलो भनेकै त्यहि थिईन आफन्तसँग काम गर्न दिल्ली पठाईदिएँ , अर्की छोरी अमृतालाई निशुल्क पढाउने र फुटबल खेलाउने भनेपछी वेल्टार पठाईदिएँ ।”उहाँसँग अहिले ४ कक्षामा पढ्दै गरेकी १२ वर्षिया छोरी हिना र १३ महिने छोरो हेमन्त साथमा छन् ।
श्रीमानको सपना रुस जाँदा छोडेर गएको ६ महिने छोरो हेमन्तलाई मोटरसाईकलमा घुमाउने थियो,“तीन छोरी पछि एउटा छोरा भएको थियो , एकवर्षे अवधि सकेपछी आउँछु र छोरालाई मोटरसाईकलमा घुमाउँछु भन्थ्यो ,”आँशु पुछ्दै उहाँले भन्नुभयो ,“सवै परिवार लिएर काठमाडौं आउनु है म आउँदा भन्नुहुन्थ्यो ।”
रुस पठाउनेबेला दलालले लडाईमा नभई सामान्य सेक्रेटरी गार्ड भनेर पठाएको थियो । ओमबहादुरले नेपाली सेनाको नन्द वक्स गणमा १४ वर्ष जागिर समेत खानुभएको थियो । “त्यहि भएर सेक्रेटरी गार्ड त गर्न सजिलै हुन्छ भनेर जानुभएको थियो ।” श्रीमान ओमबहादुरलाई रुस पठाउन जेठानीहरुको सुन धितो राख्नु परेको थियो । अहिले धितो तिर्न नसकेर जग्गा नै वेच्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
छोरीको पढाई राम्रो हुँदा हुँदै स्कुल छोडाएर दिल्ली पठाउँदा विन्दुकुमारीको धेरै मन रोयोे । “आठ कक्षाको परीक्षा दिएको छोरी ऋणकै कारण दिल्ली कमाउनु पठाउनु कहाँ मन थियो ।” उहाँसँग अहिले न जग्गा जमिन छ न आम्दानीको कुनै स्रोत साहुको ऋणको भारी अलावा विन्दुकुमारीको साथी आँशु मात्रै हो । “साँझ परेपछी फोन आउँछ की जस्तो लाग्छ र रातभरी एक्लै रुन्छु डिप्रेसनमै गईसके ।”
श्रीमानको याद कमहुँदै लयमा फर्किन्दै हुनुहुन्थ्यो विन्दुकुमारी तर एकसाता अघि फेरी खबर आयो । श्रीमानको शव रुसमा छ रे , दाहसँस्कारका लागि अनुमति दिनुपर्ने भयो । “शव ल्याउन धेरै खर्च लाग्छ रे कहाँबाट ल्याउनु ,”उहाँले भन्नुभयो, “छर छिमेकले पनि अव शव ल्याएर के गर्नु भने उतै दाहसंस्कार गर्ने अनुमति दिएँ ।”
वडाध्यक्ष मोहन तामाङ्गले परराष्ट्र मन्त्रालयले टेलिफोन गरेर ओमबहादुरको शव रुसमा भएको जानकारी आएको बताउनुभयो । शव ल्याउन समस्या हुने भएकाले दाहसँस्कार गर्ने अनुमति दिएको पनि तामाङ्गले बताउनुभयो ।