कटारी / उदयपुर र सिन्धुलीका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ आज सामूहिक रुपमा मनाएका छन् । उदयपुरको कटारी , २ गराँसमा उदयपुरको कटारी आसपास र सिन्धुलीको दुधौली आसपासका गुरुङ समुदायले धुमधामका साथ ल्होसार मनाएका हुन् ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद सिन्धुली र उदयपुरको समन्वयमा ल्होसार मनाईएको हो । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद दुधौलीको आयोजनामा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान तथा विभिन्न खेलकुदहरुको पनि प्रतियोगिता गरिएको थियो । गुरुङ्हरुको पहिचानको रुपमा रहेको छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
प्रतियोगितामा १३ जनाले सहभागीता जनाएकोमा भानुभक्त गुरुङले २७ दशमलव ५ फिट छेलो हानेर प्रथम स्थान हासिल गर्दा , सन्तोष गुरुङले २४ दशमलव २ फिट र विदुर गुरुङले २३ दशमलव ७ फिट छेलो हानेर क्रमश दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । छेलो गुरुङहरुका लागि महत्वपूर्ण खेल रहेको दुधौलीमा रहेर सिन्धुलीमा पत्रकारिता गर्दै आउनुभएका रोहित गुरुङले बताउनुभयो ।
त्यसैगरी घैला फोर प्रतियोगिता पनि आयोजना गरिएको थियो विभिन्न भाषिक गीतहरुमा गुरुङहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा शुभकामना आदान प्रदान गर्न कोशी प्रदेशका पूर्व मन्त्री प्रदेश सभा सदस्य रामकुमार खत्री , कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , कटारी २ का वडाध्यक्ष प्रेम थापा क्षेत्री , ३ का अध्यक्ष पुष्कर खड्का , ७ का अध्यक्ष सुविन ढुंगाना लगायतका अतिथिहरु कार्यक्रमस्थलमा पुगेका थिए । आप्mनो भेषभुषाहरु सहित कटारीमा गुरुङहरुले पहिलो पटक ल्होसार मनाएका हुन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।


जनता भ्वाइस 








