
कटारी / कटारी ५ भोर्लेमा स्वर्गिय पशुपति गिरीको स्मृतिमा आयोजित दोस्रो शलेक कप खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि दुधौली स्पोर्टस क्लव दुधौलीले कब्जा गरेको छ । शलेस युवा समूहको आयोजनामा आज सम्पन्न फाईनलमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र , दुधौलीलाई शून्यका विरुद्ध १ गोल गर्दै स्पोर्टसले उपाधि कब्जा गरेको हो ।खेलको पहिलो हाफमा स्पोर्टसका लागि सरोज राउतले गरेको एक गोल नै उपाधिका लागि निर्णायक गोल बनेको हो ।
उपाधिसँगै स्पोर्टसले नगद ७१ हजार एकरुपैंयाका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता तालिम केन्द्रले नगद ५१ हजार १ रुपैंयाका साथमा ट्रफी , मेडल र प्रमाणमा चित्त बुझायो । असोज ९ देखि सुरु प्रतियोगिताको उत्कृष्ट गोलरक्षक स्पोर्टसका अनिल मगर , उत्कृष्ट खेलाडी अमन लामा , उत्कृष्ट डिफेण्डर ऋतिक श्रेष्ठ , म्यान अफ द म्याच सरोज राउत घोषित हुँदा उपविजेता तालिम केन्द्रका भोला माझी सर्वाधिक गोलकर्ता घोषित भए ।
आयोजक समूहका विवेक विश्वकर्मा र दिलिप श्रेष्ठ उदियमान खेलाडी घोषित भए । उनीहरुलाई कटारी नगरपालिकाका उपमेयर गिता खड्काले पुरस्कारहरु प्रदान गर्नुभयो ।गएको असोज ९ देखि सुरु प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १६ टिमले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा वोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले यस क्षेत्रमा खेलको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम पेश गर्न क्लवलाई सुझाव दिंदै आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले खेल मैदानलाई थप सुधार गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपमेयर खड्का , कटारी , ५ का वडाध्यक्ष मोहन तामाङ्गले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान पत्र , कदर पत्रहरु प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन गर्दै समूहका अध्यक्ष देवान थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिंदै आगामी दिनमा थप उत्कृष्ट प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो ।