आरानमा काम गर्दै कटारी ३ का २७ वर्षिय युवा विकास विश्वकर्मा । तस्बिर / जन्ताभ्वाईस सम्वाददाता
जन्ताभ्वाईस सम्वाददाता
३१ भदौ , आईतबार , २०८०
कटारी/ कटारी नगरपालिका वडा नम्बर ३ का २७ वर्षिय विकास विश्वकर्माको दैनिकी आरानमा फलामको काम गर्दैमा वित्ने गरेको छ । बुवा दलबहादुर विश्वकर्माको ६ वर्ष अधि निधन भएपछी आरानको काम विकासको जिम्मामा आएको हो ।
श्रीमति , एक छोरा र एक छोरीलाई आरानमा गरेको फलामकै काम घरखर्च गर्ने गरेको विकासले बताउनुभयो । ‘सानैदेखि वुवाले यहि सिप सिकाउनुभयो ।’विकासले भने ‘अहिले यहि पेशाले जिविकोपार्जन गरिरहेको छु ।’
उनले खुकुरी अरजापेको ५० , हसिया ,कचिया अरजापेको ४० , वञ्चरो अरजापेको १०० , खुकुरीमा काँजो लगाएको २०० पारिश्रमिक लिने गरेको बताउनुभयो । ‘वालीमा पनि काम गर्ने गरेको छु ।’उनले भने ‘१६ घरजति छन् उनीहरुले वर्षभरीमा काम गरेवापत मंसिरमा प्रतिघरपरिवार एकमुरी धान दिने गरेका छन् ।’
वालीघरेका अलावा अन्यसँग पैसा लिएर काम गर्ने गरेको उहाँले बताउनुभयो । ‘बुवा वितेर गए त्यसपछी बुवाकै खलाँती र घन समातें ।’विकास भन्नुहुन्छ ‘बुवाले काम गरिदिएकाहरु घरमै आउने र गरिदे भन्छन् गरिदिनै पर्यो ।’
सानैदेखि बुवाले सिकाएको सिप भएकाले फलामको काम गर्न आफुलाई अप्ठ्यारो नलाग्ने उहाँले बताउनुभयो । ‘काम गरेर खान के को लाज ? फलामको हतियार विना कसको काम चल्छ र ? ’फलामको काम गर्ने मानिसहरुको कमीसँगै हतियार बनाउन आप्mनोमा आउनेहरु बढ्दै गएको विश्वकर्माले बताउनुभयो ।
कुनै पनि काम कुनै जातिको नभई हातमा सिप हुनेको हुने भएकाले आफु गर्वका साथ यो काम गर्ने गरेको उहाँको भनाई छ । ‘यस्तो उमेरमा अरु नै काम गरेर पनि पैसा कमाउन सकिन्छ भन्नेहरु पनि भेछिन्छन् ।’विकास भन्नुहुन्छ, ‘अरु काम त अरुले पनि गरिरहेका छन् यो काम गर्ने सिप मसँग छ म यहि गर्छु ।’


जनता भ्वाइस 








