images
images

कोशी प्रदेशकै पहिलो स्थानीयस्तरको रग्बी खेल प्रतियोगिता कटारीमा सुरु (फोटोहरु सहित )

जन्ताभ्वाईस सम्वाददाता
१२ फागुन , शुक्रबार , २०७९
कटारी / कोशी प्रदेशकै पहिलो स्थानीयस्तरको रग्बी खेल प्रतियोगिता कटारीमा सुरु भएको छ । आजदेखि कटारीमा प्रथम मेयरकप टच रग्बी खेल प्रतियोगिता सुरु गरिएको नेपाल रग्बी संघका कोशी प्रदेश अध्यक्ष विनोद कटुवाल (दिवश)ले बताउनुभयो ।
नगर खेलकुद विकास समिति कटारीको आयोजना , कटारी नगरपालिका र नेपाल रग्बी संघ उदयपुरको सहयोगमा कटारी ४ स्थित टाईगर फिल्ड खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो । “प्रदेशमै यो पहिलो रग्बी प्रतियोगिता हो ।”संघका प्रदेश अध्यक्ष कटुवालले भन्नुभयो ।“रग्बीका लागि प्रदेशमा पहिलो पटक पालिकास्तरमा खेल भएको हो , कहिं कतै अरुक्लबहरुबाट खेल भएपनि स्थानीयस्तरका खेलाडीले रग्बीमा प्रतियोगिता खेलेको यो पहिलो हो ।”
अध्यक्ष कटुवालले देश भरमै पालिकास्तरमा रग्बीको खेल हुन नसकेको बताउनुभयो । कटारीमा रग्बी प्रति आकर्षण वढ्दै गएकाले प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक तामाङ्गले बताउनुभयो । “कटारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा विद्यार्थीहरुको राम्रो सहभागिता देखियो । ” अध्यक्ष तामाङ्गले भन्नुभयो ।“त्यसैले यो खेलको गतिविधि पनि बढाउनु पर्ने रहेछ भनेर प्रतियोगिताको आयोजना गरेका हौं ।”
कटारीमा सुरु प्रतियोगितामा कटारी नगरपालिका भित्रका विभिन्न वडाका पुरुषका ५ टिम र महिला तर्पmका ५ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । विजेता टिमले नगदका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछ ।प्रतियोगिताको कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले उदघाटन गर्नुभएको थियो ।
यस खेलमा पछिल्लो पटक किशोर किशोरीहरुको आकर्षण बढेको पाईएको छ । पुरुष भन्दा पनि महिलाहरुले रग्बीमा राम्रो आकर्षण देखाएका छन् । खेलमा सुरुवातमा खेलाडीहरुको हौसला बढाउन वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , वडा नम्बर ४ का अध्यक्ष भुपेश तामाङ्ग , वडा नम्बर १२ का अध्यक्ष यम्बरबहादुर कटुवालले खेलाडी सहित उपस्थिति जनाएका थिए । पहिलो पटक भएको प्रतियोगितामा समेत खेलाडीहरुको उत्साहा बढेको पाईएको छ ।