फायल फोटो ऋषि , २०७१ सालमा कमला नदीमा माझी समुदायले गरेको लदी पुजा
ऋषि राई
१७ फागुन , मंगलबार , २०७८
कटारी / नेपालका अतिसिमान्तकृत माझी समुदायले आज मंगलबार आप्mनौ सवैभन्दा ठूलो पर्व लदी पुजा मनाएका छन् । यसै अवसरमा उदयपुरका माझी समुदायले पनि यो पर्व धुमधामका साथ मनाएका छन् । लदी पुजा अतिसिमान्तकृत माझी समुदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । कोशी पुजालाई माझीहरुले लदी पुजा भन्ने गर्दछन् । हरेक वर्षको फागुन महिनाको तेस्रो मंगलबार माझीहरुले यो पर्व मनाउँदछन् । माझीहरुले तेस्रो मंगलबारलाई साईली मंगलबार भन्दछन् । माझीहरुले साईली मंगलबारलाई शुभ दिनको रुपमा लिने गरेको माझी समुदायको जेष्ठ नागरिकहरु बताउँछन् ।
पर्वको अवसरमा आज उदयपुरको कटारी २ स्थित कमला नदीमा कोशी लदी पुजा गर्दै माझी समुदायले विविध साँस्कृतिक कार्यक्रमका साथ यो पर्व मनाएको नेपाल माझी उत्थान संघ कटारीका संयोजक राजकुमार माझीले बताउनुभयो । पर्वको अवसरमा प्रदेश साँसद कला घले , कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउत ,वडाध्यक्ष प्रेम थापा , लगायतका सरोकारवालाहरुले शुभकामना दिएका थिए ।
पानी भन्दा अगाडी जन्म भएको किम्वदन्तीमा विश्वास राख्ने माझी समुदायको पुर्खौली थलो कोशी किनारहरु हो । विशेष गरी पानीको पुजा गर्ने भएकाले पनि यो समुदायले कोशी पुजालाई ठूलो पर्वको रुपमा लिने गर्दछन् । लदी पुजाका दिन सामुहिक रुपमा माझीहरुले नजिकैको नदी किनारमा महादेव , मसान , बज्रको साथै ठूलो कोशीको पुजा गर्दछन् । बज्रको पुजा गर्दा घरमा चट्याँगले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायहरुको भनाई छ । पुजामा राँगा , बोका , सुँगुर ,कुखुरा , अण्डा लगायतका फुल अक्षताले पुजा गरिने माझी समुदायका पुजारीहरु बताउँछन् ।
सामुहिक रुपमा चेलीबेटी , कुलकुटुम्ब भेला भई भोज खाँदै दुखसुख बाँड्ने प्रचलन रहेको छ । त्यसैगरी पुजामा समुदायको हित हुन सकोस भन्दै प्रकृतिलाई पुजा गर्ने चलन छ । किन्बदन्ती अनुसार माझीको जन्म पछी पानीको जन्म भएको र माछा मार्न दुवाली छेक्दा कोशी नछेकिएपछी रगतको बली दिई माछा मार्न सफल भएको लोककथा रहेको माझी अगुवाहरुको भनाई छ ।
संविधान निर्माण प्रकृयामा माझी समुदायले आप्mनो ठूलो पर्व लदी अर्थात कोशी पुजालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएको भएपनि सरकारले आप्mनो मागको वारेमा र संस्कृतिको जगेर्नामा चासो नदिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति उदयपुरका सचिव दिपक माझी बताउँछन् ।
पूर्वको सुनसरी स्थित सप्तकोशी , सिरहा , सप्तरी , रामेछाप , सिन्धुली , उदयपुरका माझीहरुले विभिन्न नदीहरुमा नियमित लदी पुजा गर्ने गरेको बताउँदै माझी समुदायको यो पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताउँदै आएका छन् । २०६८ सालको जनगणना अनुसार माझीहरुको जनसंख्या ७६ हजार ८ सय ३२ रहेको नेपाल माझी उत्थान संघले जनाएको छ । नेपाल माझी उत्थान संघले माझी प्रकृति पुजक धर्म मान्ने जाति रहेको जनाएको छ ।


जनता भ्वाइस 








