images
images

अब शासित हुने पालो पुरुषको : सीमा आभास

इटहरी – महिला मुक्तिको बहस नयाँ होइन। सरकार र गैरसरकारी संस्था आफै महिला मुक्तिको बहसमा नलागेका होइनन्। महिला हिंसाको अन्त्य कसरी गर्ने भन्ने बहस धेरै पहिलेदेखि नै चल्दै आएको हो। 

काँकडभिट्टामा भने सोमबार नयाँ बहसको सुरुवात भयो। शनिबारदेखि सुरु भएको कला साहित्य उत्सवममा बहसको शीर्षक थियो- पुरुषको मुक्ति कसरी?

यो बहसले धेरैको ध्यान खिच्यो। उपस्थित दर्शकहरुले बहसको शीर्षकमाथि नै प्रश्न गरिरहेका थिए। यतिका महिला हिंसाका घटना बढिरहेका बेला पुरुष मुक्तिको कुरा नसुहाउने सम्मका तर्कहरु सुनिए।

बहसका लागि लेखक आहुति, कवि सीमा आभास र प्रनिका कोयु उपस्थित भएका थिए। भावना ओली सहजकर्ताको भूमिकामा थिइन्।

आहुतिले मानव समाजको दृस्टिकोणबाट हेर्दा पुरुष उत्पीडित बन्दै गएको बताए। खासमा पुरुषको मुक्तिको विषय वर्गसँग गएर जोडिने उनको तर्क थियो। ‘पुरुषहरुले नै पितृसत्ताको नेतृत्व गरिरहेको जस्तो देखिन्छ। तर त्यही पितृसत्ताले पुरुषकै प्रगतिमाथि धावा बोलिरहेको छ,’ उनले भने, ‘त्यही विषयलाई व्यावहारिक दृष्टिकोणबाट हेर्दा  पुरुष सुखी र महिला दु:खी भएको जस्तो देखिन्छ।’

उनीलगत्तै बोलेकी कवि सीमा आभासले पुरुषहरु आफै त्रासमा रहेको बताइन्। ‘सर्वप्रथम पुरुषलाई तालिम दिएर त्रासबाट मुक्ति दिलाउनुपर्छ,’ उनले भनिन्, ‘पुरुषलाई भान्साको काम सिकाउनुपर्‍यो। घरमा श्रीमती नहुँदा पनि खाना पकाएर खान सिकाउनुपर्‍यो। कपडा धुन, भाडा माझ्न नसकाएसम्म महिलाप्रति ऊ सधै त्रासमा रहन्छ।’

पुरुष शासक र महिला शाषित बन्नुपर्छ भन्ने मात्र पढाइएको तर्क गर्दै उनले पुरुष र पितृसत्ता नै फरक रहेको बताइन्। ‘जबसम्म पुरुषले घरको काम महिलाको र बाहिरी काम आफ्नो हो भन्ने सोच्छ, तबसम्म पुरुषको मुक्ति सम्भव छैन।’ 

समाजको अधारभूत संस्था विवाह भए पनि त्यही संस्थामा महिलाको हैकम बढ्दै गएको र अबको पुस्ताका छोरीहरु सबल र शक्तिशाली बन्दै जाने सीमाले बताइन्। ‘शक्तिशाली कमजोरमाथि जहिल्यै शासन गर्छ। अब शासित हुने पालो पुरुषको हो। त्यसैले पुरुष आफै मुक्तिको लागि तयार हुनुपर्छ,’ उनी त्यतिमै रोकिइनन्, ‘महिला रहस्यमय हुन्छन्। शरीरकै आधारमा महिलालाई लच्छिन र अलिच्छिन बनइयो। त्यसको सम्पूर्ण दोश पितृसत्ताको हो।’

सिमाको तर्कमा टिप्पणी गर्दै आहुतिले पितृसत्ता झन् बलियो बन्दै गएको बताए।’ अहिले महिलाहरु कमजोर, लजालु तर सुन्दर हुन्छन् भन्ने अवधारणा कायमै छ। यिनै तीन अवधारणाका कारण पितृसत्ता झन् बलियो बन्दैछ। जुन कुरा महिलाहरु आफै पनि स्विकारिरहेका छन्। त्यसैको फाइदा उठाउँदै पितृसत्ताले आफ्नो हैकम राख्न सफल भएको हो,’ उनले थपे, ‘यो पुँजीवादी समाज हो। जहाँ सम्पत्तिमाथिको पहुँच मुख्य कुरा हुन जान्छ। त्यसैले महिला आर्थिक हिसाबका कति शक्तिशाली बन्दैछन् भन्ने विषयले शासन गर्ने क्षमताको निर्धारण गर्छ।’

उनको भनाइ टुंगिन नपाउँदै सीमाले महिलालाई भौतिक सुन्दरतासँग मात्र तुलना गर्नु गलत भएको तर्क गरिन्। ‘खासमा महिलाहरु सबै हिसाबमा सुन्दर नै हुन्छन्। त्यो नकार्न सकिन्न तर त्यसैलाई कमजोरीको रुपमा हेरिनु पितृसत्ताको भूल रहेको उनले सुझाइन्। 

प्रनिकाले भने निजी तर्कमा भन्दा सीमा  र आहुतिकै तर्कमा सहमत जनाउने कोसिस गरिन्। बरु २०३० सालको  एक पत्रिकामा निस्किएको आर्टिकल पढ्न आग्रह गरिन्।

त्यसपछि बोलेका अहुतिले नारीवादका सिद्धान्तले महिला मुक्ति नुहुने तर्क गरे। महिलाका अहिलेसम्म बाहिर आएका विषयको नेतृत्व पितृसत्ताले नै गरीरहेको उनले जिकिर गरे। ‘राज्यसत्ता र निजि सम्पत्ति पितृसत्तासँग छ। त्यसैले महिला मुक्ति रोकेको छ। फेरि पनि महिला मुक्ति नभइन्जेल पुरुष मुक्ति असम्भव जस्तै देखिन्छ,’ उनले भने।

आहुतिको तर्कमा आलोचनात्मक समर्थन् गरिन् सीमाले। अब विदेशी नारीवादको भन्दा फरक ढंगले नेपाली समाजका महिलाले भोगेको नारीवादको व्याख्या हुनुपर्ने तर्क उनले राखिन्।