images
images

नायिका ढुंगाना अझै सफलता हात पार्न पनि संघर्ष गर्दै

काठमाडौं – बाल कलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी नीता ढुंगाना नायिका भएपछि सफलता हात पार्न अझै पनि संघर्षरत छिन् । उनले काम गरेका धेरै चलचित्र असफल छन् भने केही सफल देखिएका छन् । तर, नीतालाई भने अब नायिका भन्दा पनि राम्रो भूमिकाको लोभ लाग्न थालेको छ ।

काठमाण्डौमा आयोजना भएको चलचित्र ‘साइनो’को गीत रिलिज कार्यक्रममा उनले आफ्नो मनको कुरा व्यक्त गरिन् । यो चलचित्रमा नीता र मिरुना मगरको मुख्य भूमिका छ । कार्यक्रममा पत्रकारले प्रश्न सोधे–‘प्रायः सोलो हिरोइन बन्ने तपाई अब सहायक हिरोइनमा पनि लोभिन थाल्नुभएको हो ?’

पत्रकारको यो प्रश्नमा नीताले भनिन्–‘होइन, मैले आजसम्म पूर्ण रुपमा सोलो मात्र भएर काम गरेको छैन । ‘मसान’ चलचित्रमा अर्को पनि नायिका हुनुहुन्थ्यो तर, त्यही चलचित्रबाट मैले राष्ट्रिय अवार्ड जिते । त्यसैले मलाई सोलो हिरोइन भन्दा पनि भूमिका कस्तो छ भन्ने कुराले अर्थ राख्छ ।’

नीताले आफूलाई हिरोइन भन्दा पनि कलाकार भनेर चिनाउन मन लागेको बताइन् । ‘नायिका भनेर बस्ने हो भने ५–६ वर्षसम्म काम गर्न सकिएला त्यसपछि त काम पाउन मुश्किल पर्छ । तर, कलाकार भएर काम गर्ने हो भने सधै पाइन्छ’, नीताले थपिन्–‘त्यसैले पनि मलाई नायिकामा कुनै लोभ छैन । मलाई कलाकार बन्नु छ ।’ अनलाइनखबर