पर्वत । मगर महोत्सवमा घरेलु उत्पादन हेर्नेहरूको भीड लागेको छ । महोत्सवमा रहेका स्टलमध्ये पर्वतको मौलिक उत्पादन हेर्नेको बढी भीड लागेको हो ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा १० ओटाभन्दा बढि कृषिका स्टलहरू राखिएको छ । त्यसभित्र पनि पर्वतेलिहरुको उत्पादनका रूपमा रहेको किबी फल, भुइँस्याउ, लप्सी, सुन्तला बन्दा काउली, चिज, छुर्पीलगायतका सामग्रीहरूको अवलोकन गर्नेहरूको भीड बढेको स्टल सञ्चालकहरुले बताए । महोत्सवमा मेला हेर्न आएकाहरुले कृषि उत्पादनमा चासो दिएकाले आफुहरु थप उत्साहित भएको किसानहरु बताउँछन् ।
यसअघिका महोत्सवमा खासै रुचि नदेखाउने कृषि उत्पादनमा यसवर्ष उपभोक्ताको चासो बढी देखिएको हो । महोत्सवमा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएकाले पनि दर्शकहरुको भिड लाग्ने गरेको छ । स्थानीय कृषकले उत्पादन गरेको फर्सी, च्याँउ, सुन्तला, काउली लगायतको विक्री अत्यधिक भएको छ भने मेला हेर्न आउनेले उत्पादन, तथा बजारको बारेममा जिज्ञासा राख्ने गरेका छन् ।
महोत्सव हेर्न बढी मात्रामा युवा र विद्यार्थीहरू आउने गरेका आयोजकले जनाएको छ । दैनिक रूपमा २ हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको महोत्सब मुल आयोजक समिति सँयोजक तथा पुन क्लबका अध्यक्ष कृष्ण पुनले बताउनु भयो ।