काठमाण्डौ जेठ १८, काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा अवैध हुण्डीको कारोवार गरेको अभियोगमा रौतहट गौर खतुवा घर भई ललितपुर सानेपा बस्ने २४ बर्षीय दिपेश कुमार यादव र २४ बर्षीय राजन कुमार गुप्तालाई नगद ७ लाख रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा यादवले बोकेको झोलाबाट उक्त नगद बरामद भएको थियो ।
प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा १० लाख रुपैयाँ भारत घर भई कालीमाटी बस्ने २४ बर्षीय रोहित पटेललाई दिएको बताए पछि पटेलको डेरा कोठा समेत तलासी गर्दा उक्त रकमले किनेको १४ तोला सुनको ढिक्का र डेढ किलो चाँदी बरामद भएको थियो । पटेललाई समेत प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरि रहेको छ ।