काठमाण्डौ बैशाख २९, अवैध नेपाली रुपैयाँ ओसार-पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१३ कालीमाटी सोल्टी मोडबाट उक्त कार्यमा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-१४ थली बस्ने २२ वर्षीय समिर पौडेलले चलाएको बा.८० प ३२०५ नम्बरको मोटरसाइकलमा सवार सिन्धुली महादेवडाँडा-१ का २१ वर्षीय सबिनचन्द्र न्यौपानेको साथबाट नगद २५ लाख ९५ हजार रुपैयाँ र बा.७३ प ३४८० नम्बरको मोटरसाइकल चालक रामेछाप खाँडादेवी गाँउपालिका-५ का हाल क्षेत्रपाटी बस्ने २९ वर्षीय सुभाष श्रेष्ठको साथबाट नगद ७७ हजार गरी नगद २६ लाख ७२ हजार फेला पारी उनीहरूलाई दुवै मोटरसाईकल सहित प्रहरीले प्रकाउ गरेको हो ।
त्यस्तै कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु.२ ख ८४२ नम्बरको बसलाई नागढुंगा चेकपोष्टमा जाँच गर्ने क्रममा बसमा सवार रुपन्देही सैनामैना नगरपालिका-११ बस्ने २२ वर्षीय रेशम घिमिरेले बोकेको झोलामा हाल स्रोत नखुलेको १ हजार दरका १ हजार १ सय थान र ५ सय दरका १ हजार ८ सय थान गरी नगद २० लाख नेपाली रुपैयाँ, खगेन्द्रप्रसाद पौडेलको नाममा रहेको एनएमबी बैंकको दस्तखत गरेको ब्ल्याङक चेक ५ थान, पवित्रा श्रेष्ठको नाममा रहेको सिद्धार्थ बैंकको दस्तखत गरेको ब्ल्याङक चेक ५ थान फेला पारी उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।