images
images

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागी पाँच हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाण्डौ बैशाख २१, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउँदै हुनुहुन्छ । उहाँको दुईदिने नेपाल भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो ।

विशिष्ट पाहुनाको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक विश्वराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको वासस्थानका लागि बौद्ध जोरपाटीस्थित होटल हायातलाई छनोट गरिएको छ । वैशाख २८ गते बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बौद्धसम्मको सुरक्षामा विशेष निगरानी राखिनेछ ।

उहाँले यात्रा गर्ने ‘बुलेटप्रुफ’ गाडीको पछुवामा विशेष प्रवधि जडित ‘जामर’ गाडीसहित र दाँया–बाँया तथा अगाडि पछाडिबाट छ वटा सवारी साधनले सुरक्षा प्रदान गर्नेछन् । उहाँले नेपाल भ्रमणको क्रममा प्रयोग गर्ने ‘बुलेटप्रुफ’ गाडी भने भारतबाटै ल्याउन लागिएको हो । उहाँको आन्तरिक (भित्री) सुरक्षामा भारतीय सेनाको ‘स्पेसल’ कमान्डो खटे पनि त्यसपछिको घेरामा नेपाली सेनाको स्पेसल कमान्डो खटिनेछ ।

बाह्य सुरक्षा, सूचना सङ्कलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिनेछ । भारतीय प्रधानमन्त्री मोदीको सवारी सञ्चालनका क्रममा सर्वसाधारणको सवारी आवागमनमा समेत प्रतबन्ध लगाइने भएको छ । तर, सुरक्षाको कारण देखाउँदै उहाँले प्रयोग गर्ने सवारी रुटबारे भने जानकारी दिइएको छैन । उहाँ काठमाडौँ पुगेर जनकपुर जाने वा जनकपुर हुँदै काठमाडौं आउने भन्ने विषयमा पनि अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । यस्तै, जनकपुरमा हुने नागरिक अभिनन्दन र मुक्तिनाथको धार्मिक भ्रमणका क्रममा सेनाको विशेष कमान्डो र हेलिकोप्टर सहितको टोलीले उच्चस्तरीय सुरक्षा प्रदान गर्ने भएको छ । प्रहरीका अनुसार, काठमाडौ बाहिरको सुरक्षा व्यवस्था स्थानीय प्रहरीले नै गर्नेछ ।

स्रोत : गोरखापत्र