अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले अमेरिकी निवास छोडेको अब निकै भइसकेको छ। तर, यी दुई समाचारमा आउन भने छोडेका छैनन् । ओबामा र मिसेल प्रत्येक दिनजसो कुनै न कुनै अखबारका मुख्य समाचार बनिरहेका छन् ।
यही क्रममा उनीहरुले बनाएको योजनालाई प्राथमिकताका साथ छापेको छ, न्यूयोर्क टाइम्सले । टाइम्सअनुसार ओबामा दम्पत्ति अहिले नेटफ्लिक्स (अनलाइन भिडियो प्ल्याटफर्म)का लागि कार्यक्रम निर्माण गर्ने विषयमा वार्ता गरिरहेका छन् । न्यूयोर्क टाइम्सका अनुसार उनीहरुले नेटफ्लिक्समा प्रेरक कथाहरुको एउटा विशेष कार्यक्रम बनाउने छन् ।
तर, नेटफ्लिक्सले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।
ओबामा वरिष्ठ सल्लाहकार एरिक शुल्जले पनि यो योजनाको पुष्टि गरेका छैनन् । तर, उनले ओबामा दम्पत्तिले छिट्टै कुनै सार्थक कार्यक्रम गर्ने बताएका छन् । उनले न्यूयोर्क टाइम्सलाई भनेका छन्, ‘आबोमा र उनकी पत्नी मिसेल सधैं प्रेरित गर्ने कथाहरु सुनाउने कलात्मक शक्तिमा विश्वास गर्छन् ।’
न्यूयोर्क टाइम्सले चाहिँ ओबामाले चलाउने कार्यक्रम स्वास्थ्य, जलवायु परिवर्तन तथा आप्रवासनका मुद्दामा केन्द्रित हुनसक्ने अनुमान गरेको छ। ओबामाले आठ वर्षे सत्तामा पनि यीनै विषयलाई प्राथमिकता दिएका थिए ।
न्यूयोर्क टाइम्सले नै यो कार्यक्रम डोनाल्ड ट्रम्पलाई निशाना बनाएर गरिने कार्यक्रम चाहिँ नहुने ठोकुवा गरेको छ ।