images
images

बोको हरामको कब्जामा रहेका ८२ किशोरी मुक्त

चिबोकतस्वीर कपीराइटAFP

२०७४ वैशाख २४ – नाइजेरियाको राष्ट्रपति कार्यलयले सन् २०१४ मा इस्लामवादी उग्रवादी समूह बोको हरामले सन् २०१४ मा बन्धक बनाएका ८२ स्कूले छात्रा मुक्त भएको पुष्टि गरेको छ।

अधिकारीहरुले लामो समयको वार्तापछि सरकारी नियन्त्रणमा रहेका संदिग्ध बोको हरामका केही सदस्यहरुको रिहा गरी उनीहरुलाई बन्धकमुक्त बनाइएको जनाएका छन्।

उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २ सय ७० विद्यार्थीमध्ये ती छात्राहरु पनि थिए।

रातको समय पारेर गरिएको उक्त आक्रमणको अन्तर्राष्ट्रिय तहबाट निन्दा गरिएको थियो।

रिहाइ

पछिल्लो रिहाइको खबर आउनुअघि १९५ जना छात्रा हराइरहेका थिए।

स्रोतहरुले बीबीसीलाई भनेका छन्, रिहा गरिएका ती किशोरीहरु नाइजेरियाली सेनाको रेखदेखमा रहेका छन्।

चिबोकतस्वीर कपीराइटGETTY AFP

क्यामरुनसँगको सीमा क्षेत्रमा रहेको दुर्गम क्षेत्रबाट सडक मार्ग हुँदै ती छात्राहरुलाई फिर्ता ल्याइएको बताइएको छ।

लागोसबाट बीबीसीकी स्टेफानी हेगार्टी भन्छिन्, पछिल्लो खबरले धेरै चिबोक परिवारमा खुसीयाली ल्याउने देखिन्छ तर अझै पनि एक सय भन्दा बढी चिबोक छात्राहरुलाई बोको हरामले बन्धक बनाइरहेको छ।

ती किशोरीहरुलाई फिर्ता गराउन चलाइएका अभियानहरुलाई पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामा र कयौँ हलिउड हस्तीहरुले साथ दिएका थिए।

अघिल्लो महिना नाइजेरियाका राष्ट्रपति मुहामदु बुहारीले सरकार निरन्तर सम्वादमा रहेको र अझै बन्धक राखिएका किशोरीहरुलाई सुरक्षित रुपमा रिहा गराउन स्थानीय गुप्तचर संयन्त्रको पनि प्रयोग गरिएको बताएका थिए।

एक जना सैन्य स्रोतले बन्धकमुक्त भएका किशोरीहरुलाई आइतबार बोर्नो राज्यको राजधानी माइडुगुरीमा ल्याइने बताए।

बन्धक बनाइएका अधिकांश चिबोक छात्राहरु इसाई धर्मावलम्बी थिए तर उनीहरुलाई इस्लाम धर्म अँगाल्न र आफूलाई बन्धक बनाउने बोको हरामका सदस्यहरुसँग बिहे गर्न दबाब दिइएको थियो।

बोको हारम र नाइजेरियाली सरकारबीचको द्वन्द्वमा हालसम्म ३० हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र लाखौँ मानिसहरु आफ्नो थातथलोबाट विस्थापित भएका छन्।