२०७३ चैत्र ३० – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गरी जेठ १ गते राजीनामा दिने कांग्रेस नेताहरूलाई बचन दिएका छन्।
कांग्रेस र माओवादीबीच भएको पूर्व सहमतिअनुसार दाहालले स्थानीय निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको भनी कांग्रेस नेतृत्वलाई बचन दिएको स्रोतले बतायो। उनको राजीनामापछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन्।
पछिल्लो समय प्रधानमन्त्री दाहाल पूर्वसहमतिअनुसार सत्ता छाड्न तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उठ्दै आएको छ।
उनले राजीनामा दिए पनि संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गरी जेठ १५ गते नयाँ आर्थिक वर्षको वार्षिक बजेट पेस गर्न संवैधानिक र व्यवहारिक रूपमा सम्भव छ कि छैन भन्ने प्रश्न पनि छ।
यी दुवै प्रश्नबीच प्रधानमन्त्री दाहालले जेठ १ गते नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुला गरिदिने बचन कांग्रेसका नेताहरूलाई दिएको स्रोतको भनाइ छ। ‘माओवादी र कांग्रेस नेताहरूबीच पछिल्लो समय भएका औपचारिक वा अनौपचारिक भेटघाटका क्रममा प्रधानमन्त्रीज्यूले जेठ १ गते राजीनामा दिने विश्वास दिलाउनुभएको छ,’ कांग्रेसका एक उच्चस्तरीय नेताले सेतोपाटीसँग भने।
यसबीच प्रमुख प्रतिपक्षी एमालेले कांग्रेसलाई सत्ताबाहिर राखेमा माओवादी सरकारलाई नै समर्थन गरिदिने बचनसमेत दिएको स्रोतको दाबी छ।
‘माओवादी नेतृत्व भने संसदको निर्वाचनसम्म कांग्रेससँग गठबन्धन कायम राख्न चाहन्छ,’ ती कांग्रेस नेताले भने, ‘दाहालले हामीसँगको छलफल क्रममा आफू २०६५ सालतिरको प्रचण्ड नभएको भन्दै पूर्वसहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको छ।’
कांग्रेस र माओवादीबीच गत साउनमा भएको पाँचबुँदे गोप्य सहमतिअनुसार दाहाल नेतृत्वको सरकार चैत मसान्तसम्म रहने र त्यसपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने भनिएको थियो। त्यही सहमतिका आधारमा सरकार गठन गरेका दाहालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गराउने सर्तमा कांग्रेससँग एक महिना थप समय मागेका थिए।


जनता भ्वाइस 








