images
images

बर्थडेमा झरनाको गीत नै हटकेक

२०७३ चैत्र १५ – अभिनेत्री झरना थापाले आइतबार फिल्मकर्मीको जमघटका बीच आफ्नो बर्थडे केक काटेर साथीभाइलाई केकको स्वाद चखाइन् । आमदर्शकका लागि भने आपूmद्वारा निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर’को गीत पस्किइन् ।

दर्शक तथा फ्यान पनि के कम ! झरनालाई जन्मदिनको उपहारस्वरूप उक्त गीतलाई हटकेक नै बनाइदिए । आइतबार नै बुढासुब्बाको युट्युब च्यानलबाट रिलिज गरिएको ‘कसम हो’ बोलको गीतलाई २४ घण्टामै चार लाखभन्दा बढीले अवलोकन गरिसकेका छन् ।

सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहद्वारा अभिनीत गीतमा मनाङको तिलिचो ताल क्षेत्रका सुन्दर दृश्य समेटिएको छ । तर, दर्शकको कमेन्ट अध्ययन गर्ने हो भने साम्राज्ञीको सौन्दर्यले नै धेरैलाई लोभ्याएको प्रमाणित हुन्छ ।

यसअघि अनमोल केसीसँग ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीले यस फिल्ममा नयाँ अनुहार सलिनसँग जोडी बाँधेकी छिन् । दुईको जोडीलाई तिलिचोको सुन्दरता र संगीतको मधुरताले साथ दिएको छ ।

कृष्णहरि बरालको शब्द, कल्याण सिंहको संगीत, सुगम पोखरेलको गायन, उदयराज पौडेलको एरेन्जमेन्ट र रेनाशा बान्तवा राईको कोरियोग्राफी रहेको गीत माइनस १० डिग्रीमा खिचिएको बताइएको छ ।

निर्देशक झरनाले फिल्म क्षेत्रलाई आफ्नो दोस्रो परिवारका रूपमा चिनाइन् । ‘बदलिँदो परिवेशअनुसार नयाँ कलाकारलाई लिएर फिल्म बनाएका हौँ,’ झरनाले भनिन्, ‘यो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मी र कलाकार श्रीकृष्ण श्रेष्ठप्रति समर्पित गरेका छौँ ।’

१२ वर्षअघि ‘ए मेरो हजुर’लाई रेग्मीले निर्देशन गरेका थिए भने झरनाका नायकका रूपमा श्रीकृष्णले अभिनय गरेका थिए । आइतबार रिलिज गरिएको गीत सुरु हुनुभन्दा अघि झरनाले दुवै हस्तीप्रति व्यक्त गरेका श्रद्धाञ्जलीका शब्दहरू पनि सुन्न पाइन्छ ।

निर्माता तथा झरनाका पति सुनीलकुमार थापाले आफूहरू फिल्म नबनाउने मुडमा भए पनि श्रीकृष्णको निधनपछि ‘ए मेरो हजुर २’ बनाउने सोचमा पुगेको सुनाए । सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, असिनकृष्टल राणालगायतले पनि अभिनय गरेको फिल्म आगामी १६ भदौमा रिलिज हुँदै छ ।