images
images

मोदीको नेपाल कार्ड

काठमाडाैं: पूर्वयुवराज पारस पुत्र हृदयेन्द्रको शुभ उपनयन (ब्रतबन्ध)को योजनामा छ निर्मल निवास । ज्योतिषीहरूले १७ चैतको साइत सुझाएका छन् । ब्रतबन्धको औपचारिक तिथि त तय भइसकेको छैन, आमन्त्रण गरिने अतिथिहरूबारे भने सामान्य छलफल भएको छ । र, हालै भारतको सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशका मुख्यमन्त्री बनेका योगी आदित्यनाथलाई पनि निम्त्याउन सहयोगीले सुझाएका छन्, पूर्वराजा ज्ञानेन्द्रलाई ।

६ चैतमा आदित्यनाथले सपथ ग्रहण गरेपछि अबेर राति पूर्वराजाले उनलाई फोनबाट बधाई दिए । करिब २० मिनट भएको कुराकानी निर्मल निवासले सार्वजनिक गरेको छैन । गत ४–६ कात्तिकमा वनकालीमा सम्पन्न विराट हिन्दु सम्मेलनमा पूर्वराजा र आदित्यनाथ एउटै मञ्चमा देखिएका थिए, प्रमुख अतिथि र विशिष्ट अतिथिको भूमिकामा ।

त्यतिबेला मञ्चबाटै पूर्वराजालाई ‘हिन्दु सम्राट’ भन्दै सम्बोधन गरेका आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने अभिव्यक्ति दिएका थिए । यसअघिका विराट हिन्दु सम्मेलनमा पनि आदित्यनाथ उपस्थित थिए । ०४४ सालको सम्मेलनले तत्कालीन राजा वीरेन्द्रलाई ‘हिन्दु सम्राट’ घोषणा गरेको थियो । वनकाली सम्मेलनलगत्तै पूर्वराजा ज्ञानेन्द्रले सिंगापुर, बेइजिङ, नयाँदिल्ली र थाइल्यान्डको फेरो मारेका थिए । पूर्वराजाका सञ्चार सहयोगी फणिराज पाठक भन्छन्, ‘गोरखनाथ पीठसँग राजदरबारको पुरानो सम्बन्ध रहेकाले पूर्वराजा र योगी आदित्यनाथबीचको सामीप्यता बेला–बेला चर्चामा आउने गर्छ, अहिले त झन् चर्चा नहुने कुरै भएन ।’

वनकाली सम्मेलनमा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहको शुभकामना सन्देश सोही पार्टीका नेता रघुनन्दन शर्माले वाचन गरेका थिए । आदित्यनाथ तिनै योगी हुन्, जो नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको अभियानमा एक दशकदेखि सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाट र मञ्च साझेदारीमा भारतका अन्य नेताभन्दा अगाडि छन् उनी ।

महासंघका उपाध्यक्ष योगी आदित्यनाथ उत्तारप्रदेशको मुख्यमन्त्री बनेकामा हामी उत्साहित छौँ। भारतकै ठूलो राज्यका मुख्यमन्त्रीका रूपमा नेपालमा चलिरहेको हिन्दुराष्ट्र अभियानमा निश्चय नै सहानुभूति र सद्भाव कायम रहने अपेक्षामा छौँ।-अस्मिता भण्डारी महासचिव, विश्व हिन्दु महासंघ

गोरखनाथ पीठका पीठाधीश स्वर्गीय अवैद्यनाथले गढवालका अजयसिंह विष्टलाई १५ फेब्रुअरी १९९४ मा आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए । सन् १९९८ को आम निर्वाचनमा २६ वर्षको उमेरमा पहिलो पटक त्यस क्षेत्रको सांसद बनेका थिए उनै विष्ट अर्थात् योगी आदित्यनाथ । त्यसयता १९ वर्षदेखि लगातार सांसद छन्, जसको नेपालका हिन्दुवादी संघसंस्था खासगरी विश्व हिन्दु महासंघसँग बलियो सम्बन्ध रहँदै आएको छ । २०५० सालमा सम्पन्न महासंघको गोरखपुर सम्मेलनयता उनी निरन्तर महासंघको उपाध्यक्ष छन् ।

अवैद्यनाथका सहयोगीका रूपमा उनी लामो समयदेखि महासंघमा सक्रिय छन् । तत्कालीन राजा वीरेन्द्र र योगी नरहरिनाथको पहलमा स्थापना भएको हो, महासंघ । राजा वीरेन्द्र जीवित छँदा महासंघको अध्यक्ष बनेका थिए, भारतीय नागरिक अशोक सिंघल । उनी अहिले विश्व हिन्दु परिषद् गठन गरेर त्यतै सक्रिय छन् । महासंघको भारतका हर्ताकर्ता अहिले आदित्यनाथ नै हुन्, भारत च्याप्टरको प्रमुखका रूपमा । महासंघको अन्तर्राष्ट्रिय कार्यालय काठमाडौं बाँसवारीमा छ, जसको अध्यक्ष अहिले भरतकेशर सिंह छन् ।

१८ मार्चमा आदित्यनाथलाई उत्तरप्रदेशको मुख्यमन्त्री नियुक्त गरिएयता भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीले आफ्नो फेसबुक पेजमा दर्जनभन्दा बढी स्ट्याटस ‘पोस्ट’ गरिसकेका छन् । तीनैमध्येको हो, ‘न परिवार, न मोह, महान् व्यक्तित्व, लोकप्रिय, निर्भिक र युवा । हो, योगी आदित्यनाथ उत्तरप्रदेशका नरेन्द्र मोदी बन्न सक्छन् ।’

‘महासंघका उपाध्यक्ष योगी आदित्यनाथ उत्तरप्रदेशको मुख्यमन्त्री बनेकामा हामी उत्साहित छौँ,’ महासंघकी महासचिव अस्मिता भण्डारी भन्छिन्, ‘भारतकै ठूलो राज्यका मुख्यमन्त्रीका रूपमा नेपालमा चलिरहेको हिन्दुराष्ट्र अभियानमा निश्चय नै सहानुभूति र सद्भाव कायम रहने अपेक्षामा छौँ ।’ अनौठो के छ भने आदित्यनाथ भारतीय राज्यको मुख्यमन्त्री बनेका छन्, बधाई भने नेपालमा रहेका महासंघका पदाधिकारीले खाइरहेका छन् । १/२ दिन त अध्यक्ष भरतकेशर सिंहलाई बधाई ग्रहण गर्न भ्याइनभ्याइ थियो ।

नेपाल ‘कनेक्सन’

करिब चार सय वर्षको इतिहास बोकेको छ, गोरखपुरको गोरखनाथ मन्दिरले । ११ औं र १२ औं शताब्दीका गुरु गोरखनाथ तत्कालीन गोर्खा राज्यदेखि नै शाहवंशीय राजाहरूको आस्थाका प्रतीक थिए । हिन्दु धर्ममा ‘नाथ’ सम्प्रदायका प्रवर्तक हुन् उनी । गोर्खाली राजाहरूसँग उठबसकै क्रममा उनी गोरखा आउँदा टेकेको भूमि अहिले पनि पादुका धामका नामले चिनिन्छ, जहाँ हरेक वैशाख पूर्णिमामा ‘रोट महोत्सव’ आयोजना हुन्छ । उनले गुरु मत्स्येन्द्रनाथबाट दीक्षा पाएको विश्वास गरिन्छ ।

प्राचीन नेपालमा भएको चर्को खडेरीबाट पार लगाउन गोरखनाथको योगदान रहेको विश्वासमा हिन्दु धर्मावलम्बी उनलाई सहकालका देवता पनि मान्छन् । उनीपछि गोरखनाथका पीठाधीश बनेका सबै योगीको सम्बन्ध दरबारसँग थियो । बनारस, उज्जयनलगायत ठाउँमा तीर्थयात्राका लागि पुग्ने नेपाली भक्तजन त्यस क्रममा गोरखनाथको समेत दर्शन गर्न पुग्छन् । कुनै समयमा नेपाल प्रवेशको एक मुख्य द्वार र व्यापारिक केन्द्र थियो गोरखपुर । साधक र तपस्वीहरू पनि गोरखपुर हुँदै हिमालयसम्म आइपुग्थे ।

६ चैतमा आदित्यनाथले सपथ ग्रहण गरेपछि अबेर राति पूर्वराजाले उनलाई फोनबाट बधाई दिए, जुन निर्मल निवासले सार्वजनिक गरेको छैन।

स्वर्गीय राजा वीरेन्द्र ०४८ सालमा स्थलमार्गबाट गोरखनाथ मन्दिर पुगेका थिए । ०४७ सालको संविधानमा नेपाललाई हिन्दुराष्ट्र उल्लेख गर्न तत्कालीन महन्त अवैद्यनाथको सल्लाहले काम गरेको मान्ने गरिएको छ । आफ्ना अग्रजझैं उनले पनि हरेक मकर संक्रान्तिमा गोरखनाथमा चढाउन खिचडी पठाउने गरेका थिए । अहिले निर्मल निवासले त्यसलाई निरन्तरता दिएको छ ।

राजनीतिक सम्बन्ध

दोस्रो जनआन्दोलनपछि त्यसको उपलब्धिका रूपमा व्याख्या गर्दै नेपालमा धर्मनिरपेक्षता र गणतान्त्रिक शासन व्यवस्था घोषणा भयो । भारतको एउटा लाइनले त्यसप्रति खुलेरै असन्तुष्टि व्यक्त गर्‍यो, जसको प्रतिनिधित्व भारतको तत्कालीन विपक्षी दल भाजपा र हिन्दुवादी संघसंस्थाहरूले गरे । भाजपा र हिन्दु स्वयंसेवक संघ (आरएसएस)का वरिष्ठ नेताहरू काठमाडौं आएर सार्वजनिक रूपमै विरोध गरे । तीन वर्षअघिको आम निर्वाचनबाट भाजपा सत्तामा पुगेपछि हिन्दु/राजावादीहरूको उत्साह ह्वात्तै बढ्यो ।

त्यसैको परिणाम हुन सक्छ, नेपाली नेताहरूले नयाँ संविधानमा धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता उल्लेख गरिने आश्वासन बाँडे । ‘भारतको एउटा पक्ष हिन्दुराष्ट्रको लबिङमा लागेकै हो, जुन मोदी र भाजपाको सत्ता आएपछि अली बढी मुखरित भएको छ,’ भारतका लागि पूर्वराजदूत प्राध्यापक लोकराज बराल भन्छन्, ‘सिद्धान्तको राजनीति नहुँदा कमजोरीको राजनीति नेपालमा देखिन थालेको छ र पछिल्लो समयमा हिन्दुराष्ट्र र राजतन्त्रको एजेन्डाबारे एउटा मनोविज्ञान पैदा हुँदै गएको छ ।’

यस्तो मनोविज्ञानलाई भारतमा उदय भएको ‘योगी राज’ले थप हौस्याउनेमा बराल सहमत देखिन्छन् । नेपालमा हिन्दुराष्ट्रको एजेन्डालाई भारतले अघोषित रूपमा पृष्ठपोषण गरिरहेको विषयलाई भारतीय सञ्चारमाध्यमले बेला–बेलामा उजागर गर्छन् । आरएसएसको नेपालमा भगिनी संस्था हिन्दु स्वयंसेवक संघको राष्ट्रिय प्रचार प्रमुख रहिसकेका तमलोपाका सह–महामन्त्री राकेश मिश्रा भन्छन्, ‘भारत औपचारिक रूपमा नेपालमा हिन्दुराष्ट्र भएको देख्न चाहन्छ । भाजपा र नेपालमा सक्रिय भारतका संयन्त्रहरू नेपाली नेताहरूले यो मुद्दालाई बोकिदिऊन् भन्ने चाहन्छन् ।’ त्यसो त, संसद्को चौथो दल राप्रपाले राजनीतिक रूपमै हिन्दुराष्ट्रको एजेन्डा बोकेको छ ।

पछिल्ला दिनमा कांग्रेसलगायत दलहरूमा पनि यो मुद्दाबारे छलफल चल्न थालेको छ । मिश्रा भन्छन्, ‘यस्तो अवस्थामा उत्तरप्रदेशको मुख्यमन्त्रीमा कट्टर हिन्दुवादी नियुक्त हुँदा त्यसले प्रभाव नराख्ने कुरै हुँदैन ।’कांग्रेसमा खुमबहादुर खड्का आदित्यनाथका प्रिय मानिन्छन् । त्यसैको उपज हुनसक्छ, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायत नेताले पछिल्ला दिनमा हिन्दुराष्ट्रको एजेन्डाप्रति ‘सफ्ट कर्नर’ राख्न थालेको देखिएको छ । मधेशकेन्द्रित दलका सबैजसो नेतासँगको उनको ‘व्यक्तिगत तह’को सम्बन्ध छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तिनैमध्येका हुन्, जो माओवादी सशस्त्र द्वन्द्वमा संलग्न रहँदा नयाँदिल्लीमा पक्राउ परी पटनाबाट रिहा भए । ‘भगौडा’ का रूपमा माओवादीले उनको हत्या प्रयास गर्दा विहार र उत्तरप्रदेशका हिन्दुवादी नेताले संरक्षण गरेका थिए । पुस ०६३ मा गोरखपुरमा भएको एक कार्यक्रममा नेपाल हिन्दुराष्ट्र रहनुपर्ने उनको अभिव्यक्ति त्यही गुन तिर्ने उद्देश्यले आएको थियो ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतसँग पनि आदित्यनाथको सम्बन्ध देखिने गरेको छ । कम्युनिस्टहरूलाई मन नपराउने भएकाले एमाले र माओवादीका नेताहरूसँग बाक्लो उठबस देखिँदैन । आदित्यनाथले राप्रपा अध्यक्ष कमल थापालाई विश्वास गर्दैनन् । उनलाई धुर्त र चतुर राजनीतिज्ञ भन्ने गरेका छन् । थापाको विकल्पमा अर्को शक्ति खडा गर्ने अभियानमा छन्, नेपालका हिन्दुवादीहरू ।

‘अन्डरकभर वर्क’

भाजपा सत्तामा आएपछि मोदी सरकारकी विदेशी मन्त्री सुष्मा स्वराज काठमाडौं आइन् । हिन्दु स्वयंसेवक संघको कार्यक्रमका सहभागीले हिन्दुराष्ट्रको मुद्दा उठाए । स्वराजले भने आफूले धर्मनिरपेक्ष संविधानअनुसार सपथ लिएकाले त्यसबारे प्रश्न नउठाउन आग्रह गरिन् । तर, जानकारहरूका अनुसार भाजपा सरकारले औपचारिक रूपमा प्रकट नगरे पनि अनौपचारिक अर्थात् ‘अन्डर कभर’मा यस मुद्दामा काम गरिरहेको छ । जस्तो : भाजपा सत्तामा आउनु अघिसम्म काठमाडौंस्थित भारतीय दूतावास र हिन्दु स्वयंसेवक संघको देखिनेगरी सम्बन्ध थिए ।

त्यसयता भने संघका राष्ट्रिय प्रचारक वेद प्रकाशलाई दूतावासमै सांस्कृतिक फाँट हेर्ने गरी विशेष जिम्मेवारी तोकिएको छ । संघका राष्ट्रिय प्रचारक र सह–राष्ट्रिय प्रचारक आरएसएसले नै नियुक्त गरेर नेपाल पठाउँछ । हाल रेवितकुमार राजपुत सह–राष्ट्रिय प्रचारक छन् । फोरम नेपालका सह–महासचिव अभिषेकप्रताप शाह भन्छन्, ‘दुवैतर्फको आध्यात्मिक सम्बन्धले नेपालको तरल राजनीतिक माहोललाई प्रभावित नपार्ला भन्न सकिन्न ।’

पूर्वराजासँग गठजोड

दरबारसँगको परम्परागत सम्बन्धको उपज हो, आदित्यनाथले निरन्तर नेपालमा राजसंस्था पुन:स्थापना गर्नुपर्ने आवाज उठाउँदै आउनु । १० साउन ०७२ मा काठमाडौं आएका उनले हिन्दुराष्ट्रका पक्षधरहरूद्वारा आयोजित कार्यक्रममा सोही अडान दोहोर्‍याएका थिए । नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभियानमा उनी सक्रियतापूर्वक लागेका थिए ।

आदित्यनाथले हिन्दु रक्षा वाहिनी खडा गरेर कट्टरपन्थी धार समातेका छन् । ०६४ सालमा अन्तरिम संविधानमार्फत् नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि उनले भारतको लोकसभामा बोल्दै त्यसको चर्को विरोध गरेका थिए । त्यसयता निरन्तर नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग उनी अति निकट छन् ।

भारतको एउटा पक्ष हिन्दुराष्ट्रको लबिङमा लागेकै हो, जुन मोदी र भाजपा सत्ताा आएपछि अली बढी मुखरित भएको छ। सिद्घान्तको राजनीति नहुँदा कमजोरीको राजनीति नेपालमा देखिन थालेको छ। -लोकराज बराल भारतका लागि पूर्वराजदूत

उनी उत्तरप्रदेशको मुख्यमन्त्री रहँदा कुनै न कुनै रूपमा राजसंस्था फर्किने झिनो आशा पलाएको पाइन्छ राजतन्त्र पक्षधरहरूमा । राजा ज्ञानेन्द्र गद्दीच्युत भएपछि उनको शुभेच्छुकका रूपमा निरन्तर जोडिएका छन् आदित्यनाथ । नवलपरासीमा गोरखनाथ मन्दिर निर्माण उनकै पहलमा भएको हो, जसको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए । त्यसपछि पनि काठमाडौं आएर तीन पटक पूर्वराजा ज्ञानेन्द्रसँग भेटिसकेका छन् । केही समयअघि महासंघका अध्यक्ष सिंहलगायतलाई गोरखपुर बोलाएर उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गराएका थिए ।

हिन्दु ‘नेक्सस’

विश्व हिन्दु महासंघका त सबैजसो नेपाली ‘एक्टिभिस्ट’लाई व्यक्तिगत रूपमा चिन्छन् उनी । अध्यक्ष सिंह, पूर्वअध्यक्ष हेमबहादुर कार्कीलगायतसँग दैनन्दिन सम्पर्कमा हुन्छन् । ‘भारतमा योगी र संन्यासीहरू राजनीतिमा आउँदैछन् र यो पश्चिमा मुलुकका लागि ठूलो तमासा पनि हो,’ हिन्दु अभियन्ता वासुदेव शास्त्री भन्छन्, ‘एउटा योगी खराउ लगाएर व्यापार गर्दैछ, अर्को योगी खराउ लगाएर राज्य चलाउँदै छ ।

भाजपाको राष्ट्रिय नीतिअनुसार यो भइरहेको छ ।’ योगगुरु रामदेवको उदय सोही नीतिअनुसार भएको उनको बुझाइ छ, जसको पनि नेपालसँग बलियो ‘कनेक्सन’ छ । उनका सहायक आचार्य बालकृष्ण नेपालमै जन्मेका हुन् । बनारसमा नेपालीको ठूलो उपस्थिति छ । बनारस हिन्दु विश्वविद्यालयमा विश्वनाथ धिताल, डा. हरिप्रसाद अधिकारी र गोपाल अधिकारीले पढाउँछन् । टेकनाथ उपाध्याय त विश्वनाथका पुजारी नै हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रका करिब ३० प्रतिशत मतदाता नेपालीभाषी छन् । तीमध्ये नेपालबाट गएका, भुटान र सिक्किमबाट बसाइँ सरेकाहरू हुन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहका निजी सचिव सन्दिप राणा नेपालीभाषी नै हुन् । हिन्दु अभियन्ता वासुदेव भन्छन्, ‘भाजपासँग नेपालको सम्बन्ध केलाउन नेपाल–बनारस सम्बन्ध, मोदीको निर्वाचन क्षेत्र, त्यहाँ नेपालीभाषीको उपस्थिति र नेपाली राजनीतिमा गोरखपुरको परम्परागत कनेक्सनको विश्लेषण गर्नुपर्छ ।

यी सबैले ठूलो अर्थ राख्छन् ।’ नेपालमा ठाउँ–ठाउँमा हिन्दु अभियन्ताहरूले प्रशिक्षण र भेला चलाइरहेका छन् । ७ चैतमा कीर्तिपुरमा करिब दुई सय जनालाई भेला गराएर प्रशिक्षण चलाइएको थियो । यस्तै प्रशिक्षण ताप्लेजुङ, पाँचथर, जनकपुर, चितवनलगायत स्थानमा भइसकेका छन् । प्रशिक्षण कार्यक्रमको नारा छ, ‘संसारभरिका हिन्दु एक हौँ, सबैको आस्थाको केन्द्र नेपाल हो’ । यस्ता प्रशिक्षणहरूमा आदित्यनाथको सहयोग र समर्थन रहँदै आएको छ ।

भाजपा र आरएसएस

नेपालमा भाजपाका शुभेच्छुकहरूको संस्था ’ओभरसिज फ्रेन्ड्स अफ बीजेपी’ को च्याप्टर नै छ । त्यसकी प्रमुख (कन्भेनर) छिन्, नलिनी ज्ञवाली । नेपालका हिन्दुवादी संगठनहरू दुई धारमा विभाजित छन् । एकथरी राजतन्त्रबिनाको गणतान्त्रिक हिन्दुराष्ट्रको वकालत गर्छन् भने अर्काथरी राजासहितको । पहिलो प्रकारका हिन्दुवादीको नेतृत्व हिन्दु स्वयंसेवक संघले गर्छ भने दोस्रो थरीकालाई विश्व हिन्दु महासंघले । यी दुवै अहिले एकैठाउँ आइपुगेको आभास मिल्न थालेको छ ।

हिन्दु स्वयंसेवक संघको भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) शैलीकै संगठन र पद्धति मात्र नभई सीधा सम्पर्क र सम्बन्धका हिसाबले खोलिएको त्यसको शाखा हो । आरएसएस भाजपाको मातृसंगठन हो । हिन्दु स्वयंसेवक संघ पनि नेपालमा भाजपाका शुभेच्छुक संघसंस्थाको मातृसंगठन हो ।काठमाडौं गौरीघाटमा संघको केन्द्रीय कार्यालय छ, जसलाई केशव धाम भनिन्छ ।

हिन्दुराष्ट्र र राजतन्त्रको मुद्दामा भारतमा अलग–अलग ढंगको बुझाइ रहेको छ। हिन्दु मुद्दाबारे व्यापक चासो र सरोकार देखिन्छ भने राजतन्त्रबारे अलि साँघुरो रूपमा।-प्रशान्त झा एसोसिएट एडिटर, हिन्दुस्तान टाइम्स

१० चैत ०६३ मा टुँडिखेलमा देशभरका स्वयंसेवकहरूको भेला आयोजना गरिएको थियो । करिब पाँच हजार स्वयंसेवक सहभागी उक्त भेलाका प्रमुख अतिथि आरएसएस अध्यक्ष मोहन भागवत थिए ।हिन्दु स्वयंसेवक संघ ६५ जिल्लामा सक्रिय छ । पूर्व, मध्य र पश्चिम गरी तीन वटा विभाग छन् । पूर्वमा मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चल समेटिएका छन् । मध्यमा नारायणी, वागमती, गण्डकी र लुम्बिनी छन् । भेरी, धौलागिरि, कर्णाली, सेती, महाकाली र राप्तीका जिल्ला पश्चिम विभागअन्तर्गत पर्छन् ।

नगर, निर्वाचन क्षेत्र, जिल्ला, अञ्चल र राष्ट्रिय समिति गठन भएका छन् । वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, पोखरा र काठमाडौं संघका गतिविधि बढी केन्द्रित भएका शहर हुन् । विस्तारक र प्रचारक गरी ०६५ सालसम्म ४२ जना सक्रिय थिए । हिन्दुवादी राजतन्त्रको पतनपछि धेरैले छाडे, अहिले १६ जना मात्र क्रियाशील छन् । यसका प्रमुख (संघ चालक)लाई शक्तिशाली व्यक्ति मान्ने गरिएको छ । दुवै मुलुकको उपल्लो तहमा सीधा सम्पर्कका कारण संघ चालक शक्तिशाली बनेका हुन् ।

प्राज्ञिक विद्यार्थी परिषद्, पशुपति शिक्षा प्रचार समिति, विश्व संवाद केन्द्र, हिन्दु स्वयंसेविका समिति, राष्ट्रिय श्रमिक संगठन र जनजाति कल्याण आश्रम त्यसअन्तर्गतका संघसंस्था हुन् । आश्रमले काठमाडौं मूलपानी, विराटनगर, जनकपुर, धनगढी र नेपालगन्जमा छात्रावास सञ्चालन गरेको छ । कक्षा ३ देखि एसएलसी उत्तीर्ण गरुन्जेल नि:शुल्क बास र अध्ययनको सुविधा उपलब्ध गराइन्छ । छात्रावासमा रहेका विद्यार्थीलाई अतिरिक्त समय मिलाएर हिन्दुत्वबारे प्रशिक्षण दिइन्छ ।

संघ सञ्चालनको मुख्य आर्थिक आधार ‘गुरुदक्षिणा’ हो । हरेक वर्ष मुलुकभरका शाखाले ‘गुरुदक्षिणा’ उठाउँछन् । बर्सेनि १५ देखि १६ लाख रुपैयाँ उठ्छ । त्यसैबाट वर्षभरिका गतिविधि सञ्चालन हुन्छन् । हिन्दु धर्म प्रचारका लागि स्वयंसेवक उत्पादन गर्नु स्वयंसेवक संघको मुख्य उद्देश्य हो, जसलाई संघका नेता/कार्यकर्ताले ‘व्यक्ति निर्माण’ भन्छन् । युवा पुस्तालाई बन्द शिविरमा राखेर सात र २१ दिने तालिम दिइन्छ । सातदिने तालिमलाई इन्ट्रोडक्टरी ट्रेनिङ कोर्स (आईटीसी) भनिन्छ ।

आईटीसी तालिममा हिन्दु धर्मसम्बन्धी सामान्य प्रशिक्षण मात्र दिइन्छ । त्यसपछि दिइने अर्डिनरी ट्रेनिङ कोर्स (ओटीसी) भने तीन वर्षको हुन्छ । २१ दिनसम्म चल्ने ओटीसीको पहिलो चरण नेपालमै सञ्चालन हुन्छ । दोस्रो भने गोरखपुर, लखनउलगायत भारतीय शहरमा सञ्चालन हुन्छ । तेस्रो चरण एक महिनाको हुन्छ, जुन भारत नागपुरस्थित आरएसएस मुख्यालयमै सञ्चालन गरिन्छ । हरेक चरण पार गरेपछि कम्तीमा दुई वर्ष गाउँ र नगरमा हिन्दु धर्म प्रचारकको भूमिका निर्वाह गर्नुपर्छ ।

हरेक वर्ष करिब ६ सय युवाले तालिम पाउँछन्, हालसम्म १६ हजार नाघिसकेका छन् । प्राज्ञिक विद्यार्थी परिषद्को अखिल भारतीय विद्यार्थी परिषद् (एबीबीपी) सँग सीधा सम्बन्ध छ । संघ परिवारका तीन दर्जन संघ/संगठनमध्ये एबीबीपी पनि एक हो । संघ परिवारका सबै संघसंस्थाले आफ्नो आदर्श संगठन आरएसएसलाई मान्छन् । प्राज्ञिक विद्यार्थी परिषद्का जिल्ला र नगर समिति गरी ६५ वटा एकाई सक्रिय छन् । दुई सय ५० वटा कलेजमा शाखा खोलिएको छ । विश्व हिन्दु महासंघ र भाजपाका नेपाली संयन्त्रहरूबीच खासै निकटस्थ सम्बन्ध देखिँदैन । यद्यपि, यी दुवैको एउटै एजेन्डा देखिँदै आएको छ, नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने र राजसंस्था ब्युँताउने ।

यी दुवै पक्षबीच संयोजन गर्ने व्यक्ति योगी आदित्यनाथ नै हुन् । भाजपा र आरएसएससँग महासंघका जति पनि भेटघाट र छलफल हुन्छन्, तिनको केन्द्रमा आदित्यनाथ नै रहन्छन् । त्यसो त, नेपालका हिन्दुवादीहरू आरएसएसलाई त्यति विश्वास गर्दैनन् । आरएसएसको एजेन्डा नै अस्पष्ट रहेको उनीहरूको ठम्याइ छ । करिब २२ वर्षको अभियानमा आरएसएसले नेपालको हित या अहित केमा काम गर्दैछ भन्ने उनीहरूले बुझेका छैनन् । एक अभियन्ता भन्छन्, ‘आरएसएसले नेपाली अभियन्तालाई युज एन्ड थ्रो गर्दै आएको छ । उनीहरूको मिसन कहिल्यै सार्वजनिक भएको छैन ।’ नेपालीबीच अविश्वास सिर्जना गर्दै आएको उनको भनाइ छ ।

हौसिएका नेपाली समुह

नयाँदिल्लीको नेपाल नीतिलाई नजिकबाट नियालिरहेका हिन्दुस्तान टाइम्सका एसोसिएट एडिटर प्रशान्त झा भन्छन्, ‘६२/६३ को आन्दोलन पछिदेखि नै नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालतका लागि भारतमा लबिङ शुरु भएको देखिन्छ । तर, मोदी र भाजपा सत्तामा आएपछि नेपालको हिन्दुवादी जमात हौसिएको हो ।’ उनको बुझाइमा योगी आदित्यनाथको उदयले त्यसमा थप बल पुर्‍याएको छ । यद्यपि, हिन्दुराष्ट्र र राजतन्त्रको मुद्दामा भारतमा अलग–अलग ढंगको बुझाइ रहेको झा बताउँछन् ।

भन्छन्, ‘हिन्दु मुद्दाबारे व्यापक चासो र सरोकार देखिन्छ भने राजतन्त्रबारे अलि साँघुरो रूपमा ।’ मोदीकै शैलीमा नेपालको सीमा जोडिएको उत्तरप्रदेशमा आदित्यनाथको उदयले पार्ने प्रभाव हेर्न भने केही समय कुर्नै पर्छ । त्यसै पनि, भारतको नेपाल नीति नयाँदिल्लीमा प्रधानमन्त्री मोदी, उनका सुरक्षा सल्लाहकार अजित डोभल, विदेशमन्त्री स्वराज, विदेश सचिव सुब्रमण्यम जयशंकर र गुप्तचर एजेन्सीहरूले तय गर्छन् । निर्णायक विन्दुमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको कुन रूपमा हाबी हुन्छन् भन्ने कुराले अर्थ राख्नेछ ।

यद्यपि, सत्तासीन रहँदा र बाहिर हुँदाको भूमिका फरक हुन्छ नै । सत्तामा रहँदा उनका प्राथमिकता फेरिनुलाई अस्वाभाविक मान्न सकिँदैन । प्राध्यापक बराल भन्छन्, ‘सत्ताले नेतालाई अनुशासनको परिवन्दमा बाँधिदिन्छ ।’पत्रकार झाको बुझाइमा आदित्यनाथको प्राथमिकतामा नेपाल तेस्रो स्थानमा रहन सक्छ । पहिलो, उनले उत्तरप्रदेशकै मुद्दामा केन्द्रित रहनुपर्नेछ । दोस्रो, नयाँदिल्लीसँगको समन्वय र पार्टी राजनीतिको मजबुतीमा ध्यान दिनुपर्नेछ । ‘त्यसपछि मात्र उनले नेपाल सन्दर्भ हेर्न सक्लान्,’ झा भन्छन् ।

फर्केला त खोलो ?

संयोग मात्र हुनसक्छ, प्रधानमन्त्री मोदीकै शैलीमा उत्तरप्रदेशमा आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिइरहँदा काठमाडौंमा राप्रपाले निर्वाचन आयोग घेराउ गरिरहेको थियो । त्यो पनि, हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रको एजेन्डा निर्वाचन आयोगले विधानबाट हटाएको विरोधमा । सातायता सत्तारूढ राप्रपा आन्दोलनमा छ र उपप्रधानमन्त्री कमल थापा आफैँ प्रदर्शनहरूमा सहभागी भइरहेका छन् ।

पूर्वअध्यक्ष पशुपतिसमशेर राणासहितका प्रदर्शनकारी प्रहरीसँग झडप र भागदौडका क्रममा घाइते भइसकेका छन् । उक्त पार्टीले संसद्मा नेपाललाई हिन्दुराष्ट्र कायम गर्न संविधान संशोधन प्रस्ताव नै दर्ता गरेको छ । राप्रपा केन्द्रीय सदस्य सिद्धार्थ थापा भन्छन्, ‘दुवै मुद्दा एकैचोटी उठाउनुभन्दा रणनीतिक रूपमा हिन्दुराष्ट्रबारे संशोधन दर्ता गराएका हौँ ।’

नयाँदिल्लीमा हिन्दुराष्ट्रबारेको व्यापक बुझाइलाई ‘क्यास’ गर्ने राप्रपाको रणनीति बुझ्न गाह्रो छैन । जानकारहरूका अनुसार भाजपा र आरएसएसले पनि आन्तरिक रूपमा यसबारे बहस चलाइरहेकै छन् । नेपाल धर्मनिरपेक्ष र गणतन्त्रको लाइनमा प्रवेश गर्दैगर्दा तमलोपा सह–महामन्त्री मिश्रा हिन्दु स्वयंसेवक संघका प्रचार विभाग प्रमुख थिए । भन्छन्, ‘लामो छलफल र मन्थनपछि आरएसएस नेपालमा हिन्दुराष्ट्रको एजेन्डालाई मात्र बोक्ने निष्कर्षमा पुगेको हो ।’ उनका अनुसार काठमाडौं र नयाँदिल्लीमा भएका सरोकारवालाका २१ वटा बैठकपछि आरएसएसले नेपालमा संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्रको लाइन नै पारित गरेको छ । नयाँ संविधान जारी गर्ने प्रयासस्वरूप मुख्य दलहरूले २६ जेठ ०७२ मा १६ बुँदे सम्झौता गरे । त्यसलगत्तै कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नयाँदिल्लीले मन्त्रणा गर्‍यो ।

संविधान जारी हुनुअघि त उनीहरूले दिल्ली–मन्त्रणाको रहस्य खोलेनन् । तर, संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेपछि देउवाले मुख खोले, ‘भारतले हिन्दुराष्ट्रप्रति चासो जनाएको थियो ।’ त्यसपछि मात्र हो, नेपाली नेताहरूसँग भारतीय पक्षले हिन्दुराष्ट्रको मामिलामा दु:खेसो पोखेको सतहमा आएको पनि । यद्यपि, हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको मुद्दामा भारतको ‘पोजिसन’ अझै स्पष्ट ढंगले आएको छैन । तमलोपा महामन्त्री मिश्राको बुझाइमा भारतमा भाजपाको बढ्दो प्रभावमाझ हिन्दुराष्ट्रको एजेन्डा बलियो रूपमा प्रकट हुने लक्षणहरू देखिन थालेका छन् । उनी भन्छन्, ‘हिन्दुत्वसँग मधेश आन्दोलनको पनि साइनो कतै न कतै छ ।’

जस्तो : पहिलो मधेश आन्दोलनअघि गोरखपुरमा भएको मधेशीहरूको भेला होस् वा दरभंगा र पटना बैठक, ती सबैको संयोजन आरएसएसले नै गरेको थियो । ब्यानर जेसुकै भए पनि बैठकको हर्ताकर्ता आरएसएस नेता नै थिए । उपेन्द्र यादवसहितका सबै मधेशी पक्षबीच सम्पन्न पहिलो गोरखपुर बैठकको हर्ताकर्ता थिए, त्यतिबेला हिन्दु स्वयंसेवक संघका प्रचार विभाग प्रमुख मिश्रा । उनी भन्छन्, ‘त्यतिबेला आरएसएसले नेपालमा फैलिँदै गएको माओवादीसहित कम्युनिस्ट शक्तिले हिन्दुधर्म नष्ट गर्ने निष्कर्ष निकालेको थियो । त्यसविरुद्ध मधेशलाई उठाउने नीति अख्तियार गरियो ।’ यद्यपि, अन्तरिम संविधानप्रति असन्तुष्टिले गोरखपुर बैठकको योजनाभन्दा अगाडि नै मधेशमा आन्दोलन उठ्न गयो, जसमा सबै पक्ष सहभागी भए । पहिलो मधेश आन्दोलनबाट केन्द्रीय पहिचान बनाएको फोरम नेपालका अध्यक्ष यादवले वर्ष दिनपछि भएको दोस्रो मधेश आन्दोलनसम्म आइपुग्दा तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्बन्ध विस्तार गरिसकेका थिए । दोस्रो मधेश आन्दोलनमा फोरम नेपालले दरबारबाट करिब ६० लाख रुपैयाँ र एउटा गाडी सहयोग पाएको थियो । त्यसको समन्वयकर्ता हाल फोरम लोकतान्त्रिकका नेता रामेश्वर राय यादव थिए ।

संविधानसभाको पहिलो निर्वाचनपछि फोरम नेपालभित्र दरबारबाट प्राप्त पैसा र गाडी कसले उपयोग गर्ने भन्नेमा विवाद भयो । उपेन्द्र यादव र रामेश्वर रायबीच त्यसले फाटो नै ल्यायो । पछि रायले यादवलाई छलेर उक्त गाडी कब्जामा लिए । पछिल्लो समय नयाँ संविधानविरुद्ध पनि मधेशी मोर्चा आन्दोलनमा उत्रिएपछि फोरम नेपाल अध्यक्ष यादवका केही क्रियाकलापलाई लिएर मोर्चाभित्रै प्रश्न उठ्न थालेका छन् । जस्तो : सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट उनी बिरामी बुहारी भेट्ने बहानामा नयाँदिल्ली पुगे । तर, त्यसक्रममा राम माधवलगायत हिन्दुवादी नेतासँग भेटेर फर्केका थिए । यस्तै, आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिएको भोलिपल्ट उनी एक कार्यक्रममा भाग लिने बहानामा नयाँदिल्ली हुँदै बनारस पुगे । १० चैतमा उनी नयाँदिल्ली हुँदै काठमाडौं फर्केका छन् । उनी पछिल्ला दिनमा मोर्चा र सरकारबीच सहमतिको बाधकका रूपमा देखिन थालेका छन् ।

राप्रपाले संविधान संशोधन प्रस्ताव दर्ता गर्नु र यादवको बाक्लो नयाँदिल्ली आउजाउबीच संयोग मात्र नहुन सक्छ । मधेशी मोर्चासँग संविधान संशोधनको लफडा लम्बिँदै गर्दा यी सबै गतिविधि सतहमा आएका छन् । प्राध्यापक बराल भन्छन्, ‘नेपालमा स–साना घटनाहरूले ठूल्ठूला परिर्वतनहरू ल्याइदिन्छन् । त्यसैले प्रमुख दलहरू आन्तरिक समस्या समाधानमा एकमत देखिएनन् भने यहाँ जे पनि हुन सक्छ ।’