images
images

अफ्रिकी फुटबलमा नयाँ नेतृत्व

चैत्र ४, २०७३- मदागास्कारका अहमदले अफ्रिकी फुटबल महासंघ (काफ) को दीर्घकालीन अध्यक्ष इसा हायातुलाई बिहीबार अचम्मसाथ विस्थापित गरेका छन् । यहाँ भएको महासंघको चुनावमा अहमदले विजय पाएका हुन् ।

५७ वर्षीय पूर्व क्याबिनेट मन्त्री अहमदले काफ अध्यक्ष पदका लागि भएको निर्वाचनमा २० का विरुद्ध ३४ मत प्राप्त गरेका थिए । क्यामरुनका ७० वर्षीय हायातुले काफमा २७ वर्ष राज गरेका थिए । नवनिर्वाचित अध्यक्ष आफ्नो नाम अहमद मात्र लेख्छन् । काफ कंग्रेसमा निर्वाचन परिमाण घोषणा हुँदा समर्थकले अहमदलाई काँधैमा बोकेर खुसी मनाएका थिए । अहमद आफ्नो मुलुकमा यसअघि खेल तथा माछा व्यवस्थापन मन्त्री थिए ।

उनले एक महिनाअघि मात्र आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । जतिबेला उनले जित्ने सम्भावना एकदमै न्यून भनिएको थियो । उनले मतदाता मुलुकसामु नयाँ विकल्पका रूपमा आफूलाई उभ्याएका थिए ।

हायातुको फुटबलमा लामोवृत्ति अब टुंगिएको छ । तर उनी अझै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य छन् । ‘यो त्यति नराम्रो होइन,’ हायातुले चुनावी हलबाट बाहिरिने क्रममा भने । उनी काफ अध्यक्षमा पहिलो पटक सन् १९८८ मा निर्वाचित भएका थिए ।