- सीमांकनबाहेकका संविधान संशोधन गर्ने आश्वासन
- तमलोपा अध्यक्ष ठाकुरले भने, ‘मोर्चाको बैठकपछि जवाफ दिन्छौं’
चैत्र २, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनबाहेकका संविधान संशोधन गरी चुनावमा जान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेको छ ।
बुधबार बिहान सिंहदरबारमा माेर्चा र प्रधानमन्त्रीबीच भएको बैठकमा प्रधानमन्त्रीले सीमांकनबाहेकका बुँदा पारित गर्ने र त्यसलाई मानेर निर्वाचनमा जान मोर्चालाई आग्रह गरेका हुन् । बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनबाहेकका विषयमा संशोधन गर्ने भन्दै प्रधानमन्त्रीले निर्वाचनमा सहभागी हुन मार्चालाई आग्रह गरेको जानकारी दिए । उनले मोर्चाको तर्फबाट बैठक बसेर मात्रै औपचारिक जवाफ दिने प्रधानमन्त्री दाहाल बताएका थिए । सरकारले अागामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । प्रधानमन्त्री दाहालले माेर्चाका नेताहरुलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिनसमेत आग्रह गरेका थिए ।
सरकारलाई दिएको समर्थन फिर्ता गर्ने/नगर्ने, आगामी आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउने र प्रधानमन्त्री दाहालसँग बिहान शीर्ष नेताहरुले गरेको छलफलका विषयमा मोर्चाको बैठक बस्दैछ । मोर्चाको बैठक अहिले १ बजेका लागि तमलोपाको कार्यालय बिजुलीबजारमा बोलाइएको छ ।
सप्तरीमा एमालेको मेची महाकाली अभियानमा अवरोध पुर्याउन खोज्ने मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ५ जना प्रदर्शनकारीको ज्यान गएको थियो । सरकारले दमनकारी नीति लिएको र आफ्ना माग पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको सात दिनको अल्टिमेटम थियो । संविधान संशोधन प्रस्ताव पारित लगायतका आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिने बताउँदै मोर्चा दिएको अल्टिमेटम मंगलबार सकिएको छ ।