
कटारी \कटारी नगरमा सम्पन्न प्रथम कटारी नगर क्रिकेट प्रतियोगिताको उपाधि कटारी क्रिकेट क्लबले हात पारेको छ। फाइनल खेलमा कटारी क्रिकेट क्लबले गणेशमान चारनाथ क्रिकेट क्लब पोर्ताहा, धनुषालाई १ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
गणेशमान चारनाथ क्रिकेट क्लबले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य कटारी क्रिकेट क्लबले ९ विकेटको क्षतिमा मात्र १० बल बाँकी छँदै पूरा गर्दै उपाधि सुनिश्चित गर्यो।
प्रतियोगिताको विजेता कटारी क्रिकेट क्लबले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता गणेशमान चारनाथ क्रिकेट क्लबले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
व्यक्तिगत विधामा ‘म्यान अफ द म्याच’ कटारी क्रिकेट क्लबका रबि सिंह घोषित भए भने, ‘बेस्ट बलर’ को उपाधि कटारी युथ क्लबका मुकेश मेहताले पाए। ‘हाई स्कोरर’ र ‘म्यान अफ द सिरिज’ दुबै विधामा गणेशमान चारनाथका पशुराम यादवले स्थान बनाएका छन्। यी सबै खेलाडीलाई नगद २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिता कटारी क्रिकेट क्लबको आयोजनामा र कटारी नगरपालिकाको प्रायोजन तथा कटारी नगर खेलकुद विकास समितिको सह–प्रायोजनमा सम्पन्न भएको थियो।
विजेता र उपविजेता टोलीलाई कटारी नगरपालिकाका नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का र गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जित नारायण यादवले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा कटारी नगरका २ टिमसहित कुल ८ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता २०८१ साल चैत २९ गतेदेखि २०८२ साल वैशाख ६ गतेसम्म संचालन भएको थियो।