
कटारी \उदयपुरको कटारीमा रहेको कटारी नगर अस्पताल देशभरकै उत्कृष्ट नगर अस्पताल बनेको छ । स्थानीय तहअन्तर्गत रहेका ३३ वटा नगर अस्पतालमध्ये कटारी उत्कृष्ट बनेको हो ।
नेपाल सरकारको न्यूनतम सेवा मापदण्डअन्तर्गत संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीले मापन गर्दा कटारी अस्पतालले १ सय अंकमा ८८ नम्बर पाएको छ । प्रत्येक ६ महिनामा प्रदेश स्वास्थ निर्देशनालयले न्यूनतम सेवा मापदण्ड लेखाजोखा गर्दै आएकामा ८८ अंकसहित प्रथम भई ग्रिन जोनमा परेको स्वास्थ निर्देशनालय धनकुटाकाले जनाएको छ ।
६ महिना पहिले पनि स्वास्थ क्षेत्रका जानकारले मापदण्डबमोजिम लेखाजोखा गर्दा ८३ अंक पाएर कटारी नगर अस्पताल पहिलो बनेको थियो । नगर अस्पतालले दिने न्यूनतम सेवाको सुधारसँगै विभिन्न सूचकको माध्यमबाट गरिएको मापनमा कटारी अस्पतालले ८८ नम्बर पाएको हो ।
न्यूनतम सेवा मापन गर्न स्वास्थ निर्देशनालय धनकुटाबाट जनस्वास्थ्य अधिकृत पशुपति खनाल, डा. प्रशान्त शाह र जिल्ला अस्पताल उदयपुरका गाइनोलोजिस्ट तथा स्रोत व्यक्ति डा. मुकेश झासहितको टोली कटारी आएका थिए । दुईदिनको कार्याक्रममा पहिलो दिन अस्पतालको अनुगमन र दोस्रो दिन सेवाग्राही र सरोकारवालासँग छलफल गरिएको थियो ।
यो मापन न्यूनतम सेवा भएकाले थप सेवा दिन अनुगमनकर्ताले अस्पताललाई सुझाव दिएका थिए । स्रोतसाधन, दक्ष जनशक्ति, स्वास्थ्य उपकरणलगायत अभावका बाबजुत पनि सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गर्दै उच्च मनोबलका साथ स्वाथ्यकर्मीले काम गरेकाले यो नतिजा प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहले बताउनु भयो ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले अस्पतालको सेवा सुधार गर्न कार्यालय सहयोगीदेखि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समिति सबैको मेहनत महत्वपूर्ण रहेको भन्दै अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने बताउनु भयो । उपमेयर गीता खड्काले सेवा लिन आउने सेवाग्राहीले अस्पतालमा सेवा लिँदा महसुस हुने गरी काम गर्न जोड दिइन् ।
केही समयअघि प्रादेशिक अस्पतालमा स्तररोन्नति भए पनि पूर्ण कार्यान्वयन नयाँ आर्थिक वर्षदेखि हुने र हाल नगर र प्रदेश दुवैबाट आर्थिक सहयोग उपलब्ध भइरहेको मेसु शाहले बताउनु भयो । यस अस्पतालमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ, उदयपुरगढी र सिन्धुलीको दुधौली नगरपालिकाबाट बिरामी सेवा लिन आउने गरेका छन् ।