images
images

कटारीमा लागुऔषध सहित ७ जना पक्राउ

कटारी/ ईलाका प्रहरी कार्यालय कटारीले पछिल्लो समय नियमित लागुऔषध नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडी बढाएको छ । कार्यालय प्रमुखमा प्रहरी नायब उपरीक्षक कमल बजगाई आउनुभएसँगै कटारीबाट लागु औषध सहित धमाधम पक्राउ परिरहेका छन् ।
सोही क्रममा हिजो पनि प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका वडा नं. ०४ कान्छी बजारबाट १० हजार ४६३ ट्याबलेट नियन्त्रित लागू औषध र १०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । साथै, उनीहरुको साथबाट नगद २ लाख ४७ हजार ७ सय २० रुपैया, २ वटा मोटरसाईकल र ६ वटा मोबाईल फोन समेत बरामद गरिएको छ ।
कान्छी बजारमा प्रतिबन्धित लागु औषध ओसार पसार तथा बिक्रि वितरण भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षक भीमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले लागू औषध सेवन तथा कारोबारमा संलग्न ७ जना व्यक्तिहरु, नियन्त्रित तथा प्रतिबन्धित लागु औषध, नगद, मोटरसाईकल र मोबाईल फोन समेत बरामद गरेको हो ।
पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ०७ बस्ने बर्ष २९ को हरि बहादुर तामाङ, वडा नं.०८ बस्ने बर्ष १९ को भक्त बहादुर तामाङ, बर्ष २५ को सोम कृष्ण राई, वडा नं.०४ बस्ने बर्ष २३ को अनमोल मगर, बर्ष २० की आरती राउत, बर्ष २३ को सरद कुमार सुनुवार र बर्ष १९ को बिक्रम साशंकार रहेका छन् ।
निजहरुको साथबाट TRUPAIN TABLET– ४,४३१, SPASPAIN TABLET– ५,९१२ र TAPENTA TABLET– १२० गरी जम्मा १०,४६३ ट्याबलेट नियन्त्रित लागू औषध, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैया, निजहरु सवार प्र. १–०५–००१ प ७६०२ नं. को २२० सि.सि. कालो रातो रंगको पल्सर मोटरसाईकल, प्र.१–०५–००१ प ७४९७ नं. को २०० सि.सि. कालो फुस्रो रंगको एन.एस. मोटरसाईकल र निजहरुले प्रयोग गर्ने मोबाईल फोन ६ वटा बरामद गरिएको छ ।
पक्राउ परेका ७ जना व्यक्तिलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको छ ।