images
images

कटारीमा करिव ४ हजार किसोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाईने

कटारी । महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप अभियान अन्तर्गत उदयपुरको कटारीमा करिव ४ हजार किशोरीलाई खोप लगाईने भएको छ ।स्वास्थ्य शाखा कटारीले आज पालिका खोप समन्वय समिति र संचारकर्मि र सरोकारवालासँग आयोजना गरेको अभिमुखिकरणमा नगरका चौध वडाका तिन हजार ७ सय ७२ जना किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिइएको हो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले लक्षित सम्पुर्ण किशोरीहरुलाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मिहरुलाई आग्रह गर्नु भयो । नेपालमा पाठेघरको क्यान्सर बाट बर्सेनि महिलाहरुको मृत्यु हुने गरेको बताउदै खोप अभियानमा सवै सरोकारवालाहरुले चासो राख्नु पर्ने बताउनु भयो ।

अभियान अन्र्तगत ६ देखि १० कक्षासम्म संचालित ४४ वटा विद्यालय, १५ वटा स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र ६ वटा गरी कुल ६५ वटा खोप केन्द्रबाट यो संख्यामा खोप लगाईने कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले बताउनु भयो ।

माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि जिल्लामा खोप अभियान सुरु हुने भएपनि कटारी नगरपालिकामा माघ २८ गते देखि फागुन २ गतेसम्म अभियान सञ्चालन हुने उहाँले बताउनु भयो । जिल्लाभरका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत किशोरीहरु र विद्यालय बाहिरका १० देखि १४ बर्ष उमेर समुहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने बताइएको छ ।
उदयपुर जिल्लाका सवै आठ स्थानीय तहका बीस हजार १२२ जना किशोरीलाई एचपिभी खोप लगाइने छ ।