
कटारी / उदयपुरको कटारी नगरपालिकामा केन्द्र सरकारको लगानीमा ५ विद्यालयमा भवन निर्माण सुरु भएको छ । चालु आर्थिक वर्षको बजेटबाट नगरपालिका भित्रका माध्यमिक तहका विद्यालयहरुलाई आवश्यक भवन निर्माण सुरु भएको हो ।
प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीका अनुसार कटारी , ५ को सरस्वती मावि भोर्ले , कटारी ,११ को सरस्वती मावि हर्देनी , कटारी , १४ को चन्द्रावती मावि लेखानी , कटारी , १३ को मंयखुं मावि र कटारी ७ को जनप्रेमी मावि रिस्कूमा भवन निर्माण सुरु हुने भएको हो । त्यसैगरी कटारी ३ को मावि हडैयाले भने वरपर पर्खाल लगाउने भएको छ ।
सरकारले प्रति विद्यालय पचास लाखका दरले भवन निर्माणका लागि बजेट छुट्टाएको थियो । “भौतिक संरचना अभाव भएको विद्यालयहरुमा भवन निर्माण गर्न सरकारले लगानी गरेको हो ।”प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले शुक्रबार सरस्वती मावि भोर्लेमा भवनको शिलान्यास गर्दै भन्नुभयो , “सवैका लागि समान शिक्षाको अवधारणा लिएका छौं ।”
भवन निर्माण गुणस्तरीय गर्न र समयमै काम सक्न पनि संसद रायमाझीले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । केन्द्र सरकारले नगरमा गरेको लगानीले विकास बढ्दै गएको कटारी नगरपालिकाका उपमेयर गिता खड्काले बताउनुभयो । केन्द्र , प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणको कामले गतिलिई रहेको उहाँको भनाई थियो ।
सरकारले एउटै नगरमा यसै चालु आर्थिक वर्षका लागि ५ विद्यालयमा लगानी गरेको हो । “वैशाख जेठ भित्रै काम सक्छौं ।”निर्माण व्यवसायीका प्रतिनिधि ईन्जिनियर रामभुवन चौधरीले भन्नुभयो ,“पछी चार कोठा बनाउन मिल्ने गरी हाललाई भर्याङ्ग सहित दुई कोठा निर्माण हुन्छ । ”
भवन निर्माणका लागि युके कन्ट्रक्सन र देवी निर्माण सेवाले काम लिई सकेका छन् । विद्यालयलाई भवनको ठूलो आवश्यकताका वीच सरकारको लगानीमा भवन निर्माण हुने भएपछी विद्यालय संञ्चालनमा सहजता आउने सरस्वती मावि भोर्लेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाले बताउनुभयो ।