
कटारी / उदयपुरको कटारी , ३ मा ईलाका प्रशासन कार्यालय कटारीको भवन निर्माण सम्पन्न भएको छ । संघिय सरकारको गृह मन्त्रालय अन्र्तगतको पाँच करोड ६३ लाख २० हजार नौ सय ८१ रुपैंया ७६ पैसाको लागतमा कार्यालयको भवन निर्माण गरिएको हो ।
जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा रहेको कार्यालयले जिल्लाकै पश्चिमी भेगको सेवाग्राहीहरुलाई प्रशासनिक सेवा दिंदै आएको छ । “भवन निर्माण भईसकेको छ , अव अन्तिम किस्ता दिएर निर्माण व्यवसायीबाट हस्तान्तरण गरी लिन बाँकी छ ।”कार्यालय प्रमुख उपसचिव कोपिला थुलुङ राईले भन्नुभयो ,“अव छिट्टै आप्mनै कार्यालयबाट सेवाग्राहीहरुलाई सेवा दिने तयारीमा छौं ।”
भवन निर्माणको जिम्मा मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि , वानेश्वर १० ले लिएको थियो । २ वर्षमा निर्माण सक्नेगरी सप्लायर्सले २०७९ असारमा भवनको शिलान्यास गरेको थियो । भवनको शिलान्यास तत्कालिन प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गर्नुभएको थियो ।
भवनको काम सकिएको बताउँदै निर्माण व्यवसायी सप्लायर्सका प्रतिनिधि ईन्जिनियर सुरेन्द्र जयसवालले अन्तिम किस्ता बुझेपछी भवन हस्तान्तरण गर्ने बताउनुभयो । भवनको काम सकिसकेको र सवारीसाधनहरु राख्ने ठाउँ पनि अन्तिम चरणमा पुगिसकेको जयसवालले बताउनुभयो ।
सरकारले २०६९ चैत्रमा कटारीमा ईलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । पश्चिमी र उत्तरपश्चिमी पहाडी भेगका सेवाग्राहीहरुलाई लक्षित गरी प्रशासन कार्यालय कटारीमै बनेपछी २ दिन लगाएर जिल्ला सदरमुकाम गाईघाटमा रहेको जिल्ला प्रशासन कार्यालय जानुपर्ने वाध्यता हटेको थियो ।
कार्यालयले हाल कटारी नगरपालिका , ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको १,२र ३ नम्बर वडालाई सेवा दिंदै आएको छ । स्थापना भएको १२ वर्ष सम्म कटारी , ४ मा भाडाको घरमा काार्यलय संञ्चालन गर्नुपर्ने वाध्यता थियो ।
कार्यालयले दैनिक सरदरमा २५ जना सेवाग्राहीहरुलाई नागरिकता त्यतिनै संख्यामा राष्ट्रिय परिचय पत्र , र विभिन्न समावेशीता खुल्ने सिफारिसहरु प्रदान गर्दै आईरहेको छ ।