कटारी / उदयपुरको कटारी , ४ की ३५ वर्षिया दुर्गा परियारको घर सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक किनारामा छ । मूख्य सडकसँगै घर भएर जति सुविधा उहाँलाई छ त्यो भन्दा सास्ती बढी छ । हिउँद लागेसँगै सडकमा उडेको धुलोले परियारले घरको ढोकासँधै बन्द राख्नु परेको छ ।
सामान्य सवारी आउजाउ गर्यो की घर धुलोले पुरिने गरेको छ ।“ढोका खोल्ने त कुरै छोडौं घरभित्रै धुलो छिरेर हैरान हुन्छ ।”उहाँले भन्नुभयो ,“धुलोले भात पकाउने खाने ठाउँ पनि हुन्न माईग्रेनको विरामी भईसकें ।”
यस सडकखण्डको ४६ किमि कटारी नगरपालिका भित्रै पर्छ । सडक जीर्ण भएसँगै धुलोका कारण नगरपालिकाको वडा नम्बर ४ , ८ , ११ , र १४ नम्बर वडाका स्थानीयलाई हिउँदमा घर वस्नै समस्या हुने गरेको छ । सडक वरपरका स्थानीयले लगाएको बाली नाली , घाँसपात समेत धुलोले कामै नलाग्ने बनाउने गरेको छ । जसका कारण कृषकहरुलाई झनै ठूलो समस्या हुने गरेको छ ।
घरमा लुगा धोएर सुकाउने ठाउँ छैन् ।“घरका कुनै पनि सामान सफा रहँदैनन् , धुलोले विरामी बनाउने अवस्था छ ।”कटारी , ४ कै एरिका परियारले भन्नुभयो ,“वडामा पनि भन्यो , सडक वन्द पनि गर्यौं तर हाम्रो समस्या जहिले यस्तै रह्यो ।”
यस क्षेत्रमा झण्डै दर्जन विद्यालयहरु छन् । विद्यालयका विद्यार्थीहरुलाई विद्यालय आउजाउ गर्न पनि समस्या छ ।“स्कूल गएर आउँदा धुलोले हेरिनसक्नु बनाउँछ , धुलो खाएर हिंड्नु पर्छ ।”मावि मरुवामा कक्षा १० मा अध्ययनरत प्रदिप परियारले भन्नुभयो ।
सडकसँगै रहेका विद्यालयको अवस्था झन गाह्रो छ । “एउटा गाडी हिन्यो की स्कुल धुलोले पुर्छ समस्या त भनिसाध्य छैन् ,”हर्देनी मावि कटारी , ११ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप राउतले भन्नुभयो ,“विद्यार्थी , शिक्षक अभिभावक सबैलाई धुलोले विद्यालय आउजाउ गर्न समेत समस्या पार्छ ।”
यस सडकसँगै जोडिएको कटारी , ८ को पट्नाभञ्याँ¨ , ११ को मावि हर्देनी , १४ को मावि लेखानीका विद्यार्थीहरुलाई सवैभन्दा बढी समस्या रहेको अभिभावकहरु वताउँछन् । वर्षामा हिलोका कारण समस्या हुने यस क्षेत्रमा हिउँदमा धुलोले झनै ठूलो समस्या पार्ने गरेको छ ।
कटारी–घुर्मी सडक कार्यालय कटारीका सूचना अधिकारी मनोज कुमार मण्डले यस सडकखण्डमा पानी छिट्नका लागि बजेट नै नभएको बताउनुभयो ।“लहान सडक कार्यालयबाट वार्षिक २० लाख आउँछ त्यो जेसिवी , ट्रिपर र ३ जना कर्मचारी परिचालन गर्नै पुग्दैन् ,”उहाँले भन्नुभयो ,“यो समस्या यहि वर्षलाई मात्रै हो , अर्को साल त ठेक्का लागेर काम सुरु हुन्छ ।”
यस सडकखण्ड स्तरउन्नतीका लागि केहि दिन अघि मात्रै सडक विभागले भर्खर वातावरणीय प्रभाव मूल्याकंन तयार पार्दैछ । सडक स्तरउन्नती नहुँदा दुई दशकदेखि स्थानीयले वर्षेनी धुलोको समस्या भोग्दै आएका छन् । यस सडकखण्डबाट माथिल्लो जिल्ला ओखलढुंगा , खोटा¨ , सोलुखुम्बु जाउजाउ गर्नेहरुलाई मोटरसाईलमा आउजाउ गर्न समेत धुुलोकै कारण समस्या छ ।


जनता भ्वाइस 







