
कटारी / सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी सडक खण्ड स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारी वन तथा वातावरण मन्त्रालयमा पेस गरेको प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले बताउनुभयो ।
मन्त्रालयमा वैठक वसेर यसैसाता भित्र प्रतिवेदन पारित गरी काम सक्ने तयारी भईरहेको संसद रायमाझीले बताउनुभयो । “प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको छ यसै साता भित्र काम सक्ने तयारी छ ।”उहाँले भन्नुभयो ,“सार्वजनिक सुनुवाई लगायतका कामका लागि सुचना प्रकाशन गर्ने काम समेत भएको छ ।”
प्रतिवेदन अनुसार निर्माण सुरु भएको ३० महिनामा काम सक्ने योजना सहित यो आयोजनाको कुल लागत ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको छ ।“यसका लागि बहुवर्षिय ठेक्का लगाउन पहल गरिरहेका छौं ।”संसद रायमाझीले भन्नुभयो ,“बहुवर्षिय रुपमा काम गर्न पाए यस क्ष्ँेत्रका जनतालाई ढुक्क बनाउन सकिन्थ्यो ।”
सिरहाको मिर्चैयादेखि सुरु भई उदयपुरको कटारी नगरपालिका भित्र यो सडक रहेको छ । यो सडक स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका वडा नम्बर ६ र ७ तथा कटारी नगरपालिका १, २, ३, ४, ८, ११ र १४ नम्बर वडावासी प्रत्यक्ष लाभान्वित हुनेछन् । तीनदशक अघिदेखि संञ्चालनमा आएको यो सडक खण्ड जीर्ण भएपछी विशेष गरी कटारी नगरपालिकाको सडक क्षेत्रमा आउजाउमै समस्या छ ।
प्रतिवेदनको काम अन्तिम चरणमा पुगेसँगै सडक स्तरउन्नतीको कामका लागि ठेक्का लाउने प्रकृया अघि बढाउने बाटो खुलेको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । “यो सडक स्तरउन्नतीका लागि हामी सबै पटक पटक डेलिगेसन गएका छौं , प्रतिवेदन बनेसँगै बजेट कार्यान्वयनको बाटो खुलेको छ ।”उहाँले भन्नुभयो , “ अब बहुवर्षिय ठेक्का लगाउनका लागि हामी सवैले फेरी पहल जारी राख्नुपर्छ । ”
७२ किलोमिटरको यस सडकखण्ड जीर्णृ हुँदा दैनिक ठुला साना पाँच सय सवारी साधनले सास्ती खेप्नु परेको छ । “यो सवै समस्या समाधान हुन्छ भन्ने आशा चाहिं बढेको छ ।”उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष्ँ जमानसिंह वस्नेतले भन्नुभयो ,“तर नेताहरुले प्रतिवेदनको काम सकिनै लाग्दा मैले गरेको हुँ भन्दै जस लिन तँछाड मछाड गरेको देखियो राजनीतिक कारणले काम प्रभावित नहोस ।”
यस सडकखण्डका लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारले एक अर्ब पाँच करोड बजेट छुट्टाएको छ । प्रतिवेदन तयार भएसँगै यस बजेटलाई समेत ठेक्का प्रकृयामा लैजाने बाटो खुलेको छ । प्रतिवेदन अनुसार यस सडकलाई सहरी इलाकामा १३ मिटर चौडाइ बराबर बनाउने तयारी छ । ग्रामीण भेग (पहाड) मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने गरी सडक विस्तार गरिने भएको छ ।
आयोजनाभित्र ३ वटा ठूला पुल पर्छन् । ७ साना पुल, २ सय ८९ पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने देखिएको छ । पहाडी जिल्ला ओखलढुंगा , सोलुखुम्बु , खोटा¨लाई तराई जोड्ने यो सबैभन्दा छोटो मार्ग हो । पहाडी जिल्लाका उत्पादन तराई ल्याउन र तराईबाट आवश्यक निर्माण सामाग्री , उपभोग्य वस्तु ढुवानी गर्ने मूख्य मार्गका रुपमा यस सडकलाई लिईन्छ ।