कटारी / कटारी नगरपालिका वडा नम्बर १० सोरुङ्गछविसेको छविसेमा बुधबार राति हत्या गरिएका आमा छोराको आज (शुक्रबार) कटारीमा दाहसंस्कार गरिएको छ । वडा कार्यालय नजिकै पसल तथा खाजा घर संञ्चालन गरी वस्ने ४० वर्षिय निर्मला थापा र उनको छोरा ६ वर्षिय आरुस थापाको आज (शुक्रबार)दिउँसो कटारी अस्पत्तालमा पोष्टमार्टम गरी कटारीकै तावा खोलामा दाहसंस्कार गरिएको छ ।
विहिबार विहान पसलमै मृत भेटिएका दुवैजनाको शव आज विहान ३ बजे कटारी अस्पत्ताल ल्याईपुराईएको थियो । “आफन्तहरु आएपछी मात्रै मुचुल्का गरी शव उठाउने भनेपछी हिजो रातिसम्म घटनास्थलमै पर्खेर वसेका थियौं ।”ईलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरिक्षक उमेश महतोले भन्नुभयो ,“कानुन बमोजिमको मुचुल्का प्रकृया पुराएर शव ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाएका हौं ।”
घटनापश्चात मृतककी काका ससुरा राजविराजमा शिक्षण गरिरहेका ईन्द्र थापा विहिबार वेलुका घटनास्थल आईपुगेपछी कानुनी प्रकृया सुरु भएको थियो । “किटानी जाहेरी दिने प्रमाण र शंका केहि भएन ।”काका ससुरा ईन्द्र थापाले भन्नुभयो ,“घटनाको अनुसन्धानका लागि दोषिलाई कार्वाही गर्न जाहेरी दिएका छौं ।”मृतकका सासु ससुरा अशक्त भएकाले काका ससुरा थापा आईपुगेपछी प्रकृया अघि बढेको हो ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय , तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अधिकारीहरु खटिएर अनुसन्धान भईरहेको पनि प्रहरी निरिक्षक महतोले बताउनुभयो । प्रहरीका अनुसार घटनास्थलमा कुनै पनि हतियार फेला परेन । साथै मृतक महिलाको मोबाईल समेत फेला परेन । घटनास्थलमा कुनै पनि सामाग्री फेला नपरेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो ।“विभत्स किसिमले सानो हतियार चक्कु , खुकुरीले काटेको जस्तो चोट देखियो ।”वडाध्यक्ष खड्काले भन्नुभयो ,“एकदमै क्रुर र विभत्स रुपमा मारिएको रहेछ ।”
स्थानीय समेत रहेका कटारी नगरपालिकाका कार्यपालिका सदस्य गिता कुमारी गिरीले महिलाको कम्मरमाथिको भागमा छतविक्षत रुपमा काटिएका र छोराको घाँटीमा काटिएको अवस्थामा शव पाईएको बताउनुभयो । “महिलाले लगाएको सुन जस्ताको त्यस्तै छ कम्मरमा पैसा पनि त्यहि छ , के का लागि मारे छक्क परेका छौं ।”उहाँले भन्नुभयो ,“तीजको दिन गाउँनै शोकमा डुबेको छ , सवै गाउँले त्रसित रहेका छन् सवैको मुहार मलिन छ ।”
स्थानीय दिपक राउतका अनुसार विहिबार विहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी वतासे र ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक महिला निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । “तीनसय मिटर जति पर मुलघर थियो घटना भएको राति चाहिं पसलमै वास वसेका रहेछन् त्यहिवेला घटना भएछ ।”
घटनापश्चात वडावासी नै त्रसित रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । सुरक्षा चुनौतीकै कारण वडामा विगतमा प्रहरी चौकी रहेको स्मरण गर्दै वडाध्यक्ष खड्काले द्वन्दकालमा वडाको प्रहरी चौकी नगरपालिकाकै वडा नम्बर ९ स्थित वतासेमा सरेपछि समस्या भएको बताउनुभयो । “द्वन्द कालमा प्रहरी चौकी सोरुङ्ग वतासे सरेको हो , तर शान्ति स्थापना पछी पनि चौकी वडामा नआउँदा समस्या छ ।”उहाँले भन्नुभयो ,“प्रहरी चौकी सार्न आवश्यक मागहरु गरिरहेका छौं ।”