कटारी / उदयपुरको ताप्ली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन जाँदा खोलाले वगाएर एकजना ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १ मादलेका ७१ वर्षिया पूर्णमाया राईलाई यारी खोलाले वगाउँदा मृत्यु भएको हो ।
सोमबार (हिजो) सामाजिक सुरक्षा भत्ता लिन मादलेबाट रुपाटार जाने क्रममा राईलाई यारी खोलाको बाढीले बगाएको थियो । ‘भत्ता लिन जाँदा वगाएको रहेछ ,’ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभाष राईले भन्नुभयो ,‘आज कटारी अस्पत्तालमा शवको पोष्टमार्टम गरी आफन्तलाई वुझायौं ।’
ताप्ली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष उद्धब हमालले केहिदिन अघि मात्रै सामाजिक सुरक्षा भत्ता वैंकमा हालेको बताउँदै भत्ता लिन आउँदा नै मृत्यु भएको हुन सक्ने बताउनुभयो । ‘भत्ता हालिसकेको जानकारी आएको थियो , सायद भत्ता लिन आउँदा नै वगाएको हुन सक्छ ,’वडाध्यक्ष हमालले भन्नुभयो ,‘वडा नम्बर ५ मा वगाएर पुराएको रहेछ र वडा नम्बर ५ ले मुचुल्का गरेको रहेछ ।’
वडाध्यक्ष हमालका अनुसार घटनास्थल भन्दा माथि झोलुङ्गे पुल समेत थियो । त्यसैगरी घुमेर जानका लागि कुमलटारमा पक्की पुल पनि थियो । छिटो बाटो जान खोज्दा खोलाले बगाएको स्थानीयले बताएका छन् ।
भत्ता लिनका लागि मादलेबाट पैदल गाउँपालिकाको केन्द्र रुपाटारमा रहेको वैंकमा जानुपर्दछ । सामाजिक सुरक्षा भत्ता गाउँमै वितरण नहुँदा ज्यानै जाने अवस्था रहेको स्थानीयको भनाई छ ।
घटनास्थल कटारीबजारबाट ३० किलोमिटर उत्तरी पहाडी भेगमा रहेको छ । वर्षाको समयका कारण हिजोको घटना पश्चात राति कटारी अस्पत्तालमा शव पोष्टमार्टमका लागि ल्याईपुराइएको थियो । आज पोष्टमार्टम गरी शवलाई आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।


जनता भ्वाइस 








