कटारी/ शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । यसै परम्परा अनुसार पुजा आराधना गर्नका लागि कटारी नगरपालिका वडा नम्बर ३ ताराघारीमा रहेको महादेव गुफा यस क्षेत्रकै प्रमुख गन्तव्य बनेको छ ।
चारैतिर हरियाली मनोरम वातावरणमा प्रशस्त संरचना सहित चिताएको पुग्ने जनविश्वास रहेको महादेव गुफा पछिल्लो पटक धार्मिक पर्यटनको गन्तव्य वन्दै गएको छ । त्यसैले यस वर्षको साउनको सोमबार र साउन भरी नै तपाईलाई मन्दिर गुफा जान मन छ भने महादेव गुफा महत्वपूर्ण गन्तव्य वन्न सक्छ ।
दशकअघि एउटा सामान्य गुफाको रुपमा परिचित महादेव गुफाको संरचना अहिले लोभलाग्दो र रमणीय तीर्थस्थलका रुपमा परिचित हुँदै गएको छ । गुफा परिसरलाई प्रदेशकै नमूना गुफा परिसर बनाउन लागि परेको गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवार वताउनुहुन्छ । यस गुफामा वर्षेमा एक लाख बढी तीर्थालु आउने गरेका छन् । ०४० तिर स्थानीय गोठालाले नजिकैको अप्ठ्यारो पाखोमा गुफा पत्ता लगाएका थिए ।
अहिले गुफासम्म जाने सिँढी, रेलिङ, पानीका धारा, होम यज्ञ गर्ने, कार्यालय, धर्मशाला, पुजारी भवन, शौचालय, आकर्षक र बगैँचा बनेसँगै यहाँ पर्यटक आउन थालेका छन् । अन्यत्रबाट गुफा आइपुगेकाले यसलाई उत्कृष्ट गुफा भएको बताउने गरेका छन् । सिद्धिचरण राजमार्गसँगै जोडिएको र नजिकै कटारी बजार रहेकाले तीर्थयात्रा गर्नेका लागि महादेव गुफा नयाँ गन्तव्य बन्दै गएको छ ।
खानपानमा होस् वा पहिरनमा, साउन महिनाले बेग्लै स्वाद र रंग पस्कन्छ । यतिबेला धेरैले माछा–मासु, मदिराजन्य खानपान गर्दैनन् । मन्दिर धाउने, पूजाआजा गर्ने, गेरु बस्त्र धारण गर्ने, ‘ओम नमः शिवया’ जप्ने यहि महिनामा हो ।त्यसैले यो वर्षको साउनको महिमा पुरा गर्न तपाईलाई पनि कटारीको महादेव गुृफाले पर्खिरहेको हुनसक्छ ।