कटारी / कटारीमा चरा संरक्षणका लागि घरघरमा चराहरुलाई पानी राख्न थालिएको छ । अत्यधिक गर्मीका समयमा पानीको अभाव भई चराहरुलाई समस्या नहोस भनेर चराहरुलाई पानीको व्यवस्था भाँडा राखिएको हो ।
पंक्षी संरक्षण समाज , कटारीका सदस्य अनुष्का सुवेदीका अनुसार उनीहरुले कटारी बजार आसपासका घरहरुमा ८० थान चराको लागि पानी राख्ने भाँडा वितरण गरेका छन् ।‘खडेरीमा चराहरुले पानी नपाउन सक्छन् त्यसैले पानीका लागि भाँडा दिएको छौं उनीहरुले घर वरपर र छतहरुमा पानी राखिदिन्छन् ’सदस्य सुवेदीले भन्नुभयो ,‘यस क्षेत्रमा दुईसय प्रजातिका चराहरु पाईने रहेछन् ’
प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा अध्ययनरत विद्यार्थीहरुको समूह पंक्षी संरक्षण समाजले यस क्षेत्रमा चराहरु सम्वन्धि अध्ययन गरिरहेको छ । ‘चरा जोगाउन सकियो भने यसले पारिस्थितिक प्रणालीमा सुधार ल्याउन , पर्यटनलाई प्रवद्धृन गर्न सघाउ पुराउँछ ।’डिभिजन वन कार्यालय कटारी(त्रिवेणी)का वन अधिकृत हिरालाल सर्माले भन्नुभयो ,‘त्यसैले हामीले यस क्षेत्रको पंक्षीहरु संरक्षणका लागि कार्यक्रमहरु गर्ने गरेका छौं ।’
कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहका अनुसार समाजको सहकार्यमा विभिन्न वन उपभोक्ता समितिका सदस्यहरु , तथा स्थानीय वस्तीहरुमा चराहरु जोगाउन सचेतनामुलक कार्यक्रमहरु समेत आयोजना गर्ने गरिएको छ । कार्यक्रमहरुमा चराको महत्व सम्वन्धि फोटो प्रदशर्नी , भिडियो प्रदशर्नी गर्ने गरिएको हो ।
कार्यक्रम पश्चात उपभोक्ताहरु पनि चरा जोगाउन लागि परेको सुगाजोर सामुदायिक वन उपभोक्ता समूह कटारी , ५ का अध्यक्ष प्रताप अधिकारीले बताउनुभयो । ‘उपभोक्ताहरुले चरा जोगाउन घर घरमा पानी राख्न थालेका छन् ,’उहाँले भन्नुभयो ,‘चराचुरुङ्गी विना त गाउँघरको कल्पना पनि त गर्न सकिन्न नि । ’
लामो समयदेखि चराहरुको अध्ययनमा जुटेका विद्यार्थीहरुले गाउँ गाउँमा सचेतना मुलक कार्यक्रम गर्ने गरेका छन् । मौसम अनुसार यस क्षेत्रमा विभिन्न प्रजातिका चराहरु आउने जाने गरेको उनीहरु वताउँछन् । यस क्षेत्रमा साईवेरियन चराहरु समेत आईपुग्ने गरेको स्थानीयवासीहरु वताउँछन् ।


जनता भ्वाइस 








