कटारी /शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले डा.गोविन्द केसीको आन्दोलन पश्चात सरकारले उपत्यका बाहिर ७ वडा मेडिकल खोल्ने गरेको प्रतिवद्धताको कार्यान्वयनको चरणमा रहेको बताएका छन् । आज कटारी स्थित त्रिवेणी मावि कटारीको ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
हाल सम्म २ वटा मेडिकल कलेज कार्यान्वयनको नजिक रहेको बताउँदै मन्त्री राईले २ वटाको विस्तृत परियोजना प्रस्तुत भएको र वाँकी ३ वटा जग्गा प्राप्ति प्रकृयामै अल्झिएको बताए ।‘डा.केसीको आन्दोलन पश्चात आएको अवधारणा रहेछ , त्यसवेला सरकारले गरेको प्रतिवद्धता अनुसार कामहरु अघि बढेका हुन् ।’मन्त्री राईले भने ,‘त्यसैमध्ये उदयपुरमा पनि एउटा मेडिकल कलेज स्थापना हुन्छ , तर त्रियुगा नगरपालिका र कटारी नगरपालिका दुवै ठाउँमा अध्ययन भएपनि जग्गा प्राप्ति भएको रहेनछ ।’
मन्त्री राईका अनुसार यसअघि त्रियुगा र कटारी नगरपालिकाले मेडिकल कलेजका लागि माग र प्रकृया अघि बढाएपनि जग्गा प्राप्ति टुंगो लागेको छैन् । तथापि उदयपुरमा कलेज स्थापना हुने मन्त्री राईको भनाई थियो ।‘कम्तीमा सय विघा जग्गाा हुनुपर्छ जसमा वन क्षेत्रमा नपरेको , सरकारी ऐलानी भए पनि मेडिकल कलेजको नाममा ल्याउनुपर्छ ।’मन्त्री राईले भने ,‘स्वास्थ्य शिक्षाका लागि सरकारले गरेको प्रतिवद्धता पुरा हुन्छन् ।’
फरक प्रसंगमा मन्त्री राईले राजनीतिमा अव युवाहरु आउनुपर्ने बताए । मन्त्री राईले यसै विद्यालयमा सरस्वती पुजाको अवसरमा पुजा पनि गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रतिनिधि समा सदस्य अम्बरबहादुर रायमाझीले शिक्षा हुँदा खाने र हुने खानै सवैलाई समान हुनेगरी नीति ल्याउनुपर्ने बताए ।
कोशी प्रदेशका उद्योग कृषी तथा सहकारी मन्त्री रामकुमार खत्रीले यो विद्यालय एतिहासिक पुरानो विद्यालय भएकाले आवास गृह , विद्यालय वस , छात्रावास निर्माण लगायत कटारीमा मेडिकल कलेज स्थापनाका लागि मन्त्री राईलाई ध्यानाकर्षण गराए । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले दरबन्दी अनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दी अनुसार शिक्षक उपलब्ध गराउन माग गरे ।
विद्यालयले तीनदिने विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले बताए । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न सम्मान , प्रशंसा तथा प्रमाणपत्र , पुरस्कारहरु पनि वितरण गरेको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणीराज दाहालका अनुसार विद्यालयले विभिन्न मागहरु मन्त्री राईलाई राखेको थियो ।


जनता भ्वाइस 







