
कटारी / कटारी नगरपालिका वडा नम्बर २ खोक्सामा माघेसंक्रान्तिदेखि लागेको १५ दिने त्रिवेणी (मैनी)मेला सकिएको छ । द्वन्दकालअघि यो मेला माघ महिनाभरी लाग्ने गर्दथ्यो । त्यसपछी भने यो महिना १५ दिनसम्म लाग्दै आएको छ ।
पचास करोडको हाराहारीमा कारोबार गर्दै मेला सकिएको कटारी २ का वडाध्यक्ष प्रेम थापाले बताए । ‘आर्थिक मन्दीका वीचमा पनि झण्डै पचास करोडको हाराहारीमा कारोबार भएको अनुमान छ ’वडाध्यक्ष थापाले भने ,‘पैंतिस लाख बढीले मेला घुमेर गए ।’
कमला , तावा र ककरु खोलाको संगमस्थल त्रिवेणीमा लाग्ने भएकाले यो मेलालाई त्रिवेणी मेला भनिएको हो । यो मेलालाई मैनी मेला समेत भन्ने गरिन्छ । यो मेला ऐतिहासिक , धार्मिक तथा साँस्कृतिक मेलाको रुपमा यस क्षेत्रकै सवैभन्दा लामो लाग्ने र पुरानो मेलाको रुपमा परिचित छ ।
परापूर्वकालदेखि नै लाग्दै आएकाले यो मेला कहिले देखि लाग्न थाल्यो भन्ने यकिन छैन् ।‘यो धेरै पुरानो मेला हो , बुवा , हजुवुवाहरुको पालादेखि नै मेला लाग्ने गरेको सुनाउने गर्थे।’ वडाध्यक्ष थापाले भने ,‘यो पहिले देखि नै पूर्वाञ्चलकै सवैभन्दा लामो समय लाग्ने मेला थियो ।’
विगतमा यो मेला पहाड र मधेस जोड्ने सेतुका रुपमा परिचित थियो । ‘पहाडका उत्पादन यहाँसम्म ढाक्रेहरुले ल्याउँथे , र यहाँबाट नुन , भाँडाकुँडा , लत्ताकपडा , मरमसला किनेर पहाड लैजान्थे ।’कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भने , ‘यो मेला कटारी नगरपालिकाको मात्रै नभएर यस क्षेत्रै ईतिहास बोकेको ऐतिहासिक मेला हो ।’
पहाड सकिएर मधेस सुरु हुने भित्री मधेसमा रहेकाले पनि यो मेलाले पहाड र मधेसलाई जोड्ने गरेको थियो । सिन्धुलीको दुधौली नगरपालिकाको सिमासँगै जोडिएको यस मेला वागमती प्रदेश , मधेस प्रदेश र कोशी प्रदेशको सिमामा लाग्दै आएको छ । पहाड र मधेस जोड्ने मेला भएकाले यसलाई अहिले पनि बुढापाकाहरुले मैनी बजार भन्ने गर्दछन् ।
सवारी साधन संञ्चालनका लागि सिरहाको मिर्चैया देखि कटारीसम्म सडक नबन्दा नै यो मेला चर्चित मेला थियो । पाँच दशकअघि सिरहाको वन्दिपुरबाट कमला खोलैखोला मधेसका जनकपुर लगायत भारतबाट समेत यस मेलामा पैदल व्यापारीहरु आउने गरेको बुढापाकाहरु बताउँछन् । पहाडी जिल्ला ओखलढुंगा , खोटाङ्ग , सोलुखुम्बुबाट त्यहाँको पहाडे आलु , भोटे कुकुर , भेडाको उनबाट निर्मित राढिपाखी ढाकरमा लिएर पैदल आउनेहरुको माघ महिनामा लर्को नै लाग्ने गरेको ईतिहास छ ।
पहाडमा त्यतिबेला मूख्य कुरा नुन , भाँडाकुँढा , लत्ताकपडा खाँचो हुन्थ्यो । उक्त सामाग्रीहरु खरिद गर्न उनीहरु पहाडका उत्पादन लिएर आउँथे । मधेसका व्यापारीहरुले पहाडका उत्पादन मधेसमा लगेर विक्री गर्दथे । त्यतिवेला मेलाको मूख्य आकर्षणमा पहाडका भोटे कुकुर बेच्ने , पहाडी उत्पादन साथै प्रतियोगिताको रुपमा घोडा दौड रहने गरेको स्थानीयको भनाई छ ।
चारदशक अघिदेखि विस्तारै सडक संञ्जाल कटारीहुँदै पहाडसम्म पैmलियो । त्यसपछी भने मेलाको आकर्षण हराउन थालेपनि मेला भने यथावत रह्यो । देशमा चलेको दशवर्षे जनयुद्धमा धेरै मेला संञ्चालन हुन सकेनन् तर मैनी मेलाले परिचित त्रिवेणी मेला भने चलि नै रह्यो , तर १५ दिनमा खुम्चिएर ।
यहाँ माघ महिनाभरी मकर नुहाई भाकल गरे अनुसारको पशुपंक्षी वलिदिई पुजा आराधना गर्नाले चिताएको जनविश्वासका साथ लाखौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । यहाँ कोशी प्रदेश , वागमती प्रदेश , मधेस प्रदेशका अलावा भारतबाट समेत मेला घुम्न , पुजा आराधना गर्न आईपुगेको कटारी २ का वडा सदस्य पुर्षोत्तम गौतम बताउँछन् ।
यस वर्षपनि मेलामा व्यापार गर्न विभिन्न जिल्लाबाट व्यापारीहरु आईपुगेका थिए । ओखलढुंगाको राढिपाखीदेखि धरानको खुकुरी समेत मेलामा आईपुगेको थियो । लामो समयदेखि नियमित मेलामा धरानबाट खुकुरी बनाएर वेच्न आउने गरेका सुनसरीका ६५ वर्षिय तिर्थबहादुर विश्वकर्माले ४ लाख बढीको खुकुरी बेचेको बताए ।‘यस वर्षपनि सयथान बढी खुकुरी लगायत वञ्चरो , हसिया ,कचिया ताप्के लिएर आएको थिएँ ।’उनले भने ,‘बानी बसेको छ , माघ लागेपछी मैनी मेला नआई मनै मान्दैन् ।’
यस वर्षपनि वाँसका सामाग्री , फलामका सामाग्री , लत्ताकपडा , भाँडाकुँडा लगायतका सामाग्रीको विक्री वितरण भयो । त्यसैगरी मनोरञ्जनात्मक खेलहरु संञ्चालनमा ििथए । ऐतिहासिक मेला भएकाले यहाँ आउने व्यापारीहरु लामो समयदेखि नियमित आउने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।