images
images

खोरबाटै बाघले खसिबाख्रा खाएको भन्दै खसिबासका स्थानीय चिन्तित

जनताभ्वाईस सम्वाददाता
२५ बुष , बुधबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर १ मा पर्ने चुरेबन भित्र रहेका गाउँहरुमा बाघले खोरबाटै बाख्रा , गाई , गोरु खान थालेको भन्दै स्थानीय त्रसित बनेका छन् । वडाको खसिबास , एक्लेसल्ला , हात्तिटार गाउँका कृषकहरुले पालेको वाख्रा , गाईगोरु धमाधम बाघले खाईदिन थालेको स्थानीय बताउँछन् ।
खोरमै आएर स्थानीय चन्द्रप्रसाद धमलाको सोमबार राति बाख्रा मारिदिएको स्थानीयले बताए । बाघ गाउँघर वरपर नै आएर रातभर कराउने भएपछी स्थानीय डरले निस्कन सक्ने अवस्था नभएको स्थानीय ज्ञानबहादुर तामाङ्गले बताउनुभयो । ‘दुईचारवटा बाघ घरछेउछाउ नै आएर रातभर कराउँछ , मान्छेसँग पनि डराउँदैन् ।’उहाँले भन्नुभयो ,‘दुईसातादेखि यसले आतंक नै मच्याईसक्यो ।’
यसअघि यसरी वाघ नदेखिएपनि यसपटक बाघले गाईगोरु , खसिबाख्रा खाईदिएको स्थानीयले बताए । मूख्यगरी घाँसपात प्रशस्त पाईने भएकाले पशुपालनलाई मूख्य पेशा बनाएका स्थानीय बाघबाट आजित बनेका छन् । खसिबास , एक्लेसल्ला , हात्तिटार र बाख्रीचरनमा मात्रै झण्डै तीनसय बढी किसानले खसिबाख्रा पालन गर्ने गरेका छन् । खसिबाख्राका लागि कटारी बजार सिरहाको गोलबजार पुराएर विक्री वितरण गर्ने किसान यसपटक मारमा परेका छन् ।
गाउँका धेरैको खसिबाख्रा जंगलमै बाघले खाईदिएको स्थानीय बताउँछन् । जंगलमा खसिबाख्रा खाईदिन थालेपछी घरमै राख्ने गरेकोमा बाघले घर घरमै बाख्रा खान थालेको स्थानीय भुवन धमलाले बताउनुभभयो ।
डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले भने कोशी प्रदेशमै बाघ नभएको बताउनुभयो । यस वन क्षेत्रमा चितुवा प्रजातिका अन्य वन्यजन्तुले घरपालुवा जन्तु खाएको हुन सक्ने भन्दै अधिकृत साहले वन्यजन्तुले क्षति पुराए आवश्यक प्रकृया पुराए कार्यालयले ऐन अनुसार क्षतिपूर्ति दिने पनि बताउनुभयो । के ले खाएको हो भन्ने थाहा पाउन बाघ नै भए नभएको थाहा पाउन सम्भव भए स्थानीयले फोटो भिडियो खिचेर कार्यालयमा पठाईदिए थप जानकारी पाईने पनि अधिकृत साहले बताउनुभयो ।