जन्ताभ्वाईस सम्वाददाता
२२ पुष , आईतबार , २०८०
कटारी / कटारी नगरपालिकाका सात जना भारतको झारखण्डमा बन्धकमा परी उम्किएर घर आउन सफल भएका छन् । कटारी नगरपालिकाको वडा नम्बर १२ का नरबहादुर विश्वकर्मा , दानबहादुर नेपाली , डम्मरबहादुर नेपाली , वडा नम्बर १ का बेगबहादुर नेपाली , वडा नम्बर १३ का मानबहादुर नेपाली , वडा नम्बर १० का ज्ञानेन्द्र नेपाली र खड्गबहादुर नेपाली भारतको झारखण्ड राज्य राँची हजारीबाघ जिल्ला मटुवारी चोकमा एकसाता बढी वन्धक भएका थिए ।
उनीहरुलाई मासिक लाखौंको कमाई हुने भन्दै सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ घर भई कटारीमा समेत विभिन्न संघसंस्थाहरुमा काम गर्ने तेजकुमारी राउतले पुष ७ गते भारत लगेकी थिईन् । ‘तेजकुमारीले हामीलाई वर्दिबासबाट झारखण्ड पुराउन सुवास पोखरेललाई साथ लगाईदिईन् ।’पीडित नरबहादुर विश्कर्माले भने ,‘हामीलाई त्यहाँ पुराउँदा नै प्रतिव्यक्ति पच्चीस हजारका दरले रकम लिएकी थिईन् ।’
झारखण्ड पुराएपछी एकसाता प्रशिक्षण लिनुपर्ने भन्दै उनीहरुको मोबाईल खोसेर कोठामा बन्धक बनाईएको थियो । ‘पैंसा पनि दियौं त्यहाँ पुगेपछी मोबाईल खोसेर परिवारसँग पनि वोल्न नदिने बाहिर निस्कन नदिने एकआपसमा वोल्न समेत नदिएपछी हामी ठगियौं भन्ने थाहा पायौं ।’अर्का पीडित डम्मरबहादुर नेपालीले भने , ‘एकसाता विभिन्न विषयको तालिम भन्दै डडकापी दिएर राख्यो ।’
अन्त्यमा कसैलाई पनि कुनै कुरा नभन्न कसम ख्वाएर प्रतिव्यक्ति दुईलाख मागेको पीडितहरुले बताए । पीडितहरुले आफुसँग पैसा नभएकोले घर गएर पैसा ल्याउने बताएपछी उनीहरुसँग पैसा ल्याउने सर्तमा वीरगन्जका नबराज नराल र तेजकुमारी राउतसँगै नेपाल पठाएका थिए । नेपालमा कटारी आउनासाथ पीडितहरुले कटारीमा प्रहरी कार्यालय जाने तयारी गरेपछी नबराज नराल फरार भए ।
राउतलाई ईलाका प्रहरी कार्यालय कटारीमा बुझाए । कार्यालयमा बुझाएर वन्धक तथा ठगीमा जाहेरी दिन तयारी गर्दा प्रहरीले जाहेरी पनि नलिएको र उल्टै पीडितहरुलाई गुनासो समेत सुनाउने अवसर नदिएको पीडित विश्वकर्माले बताए । ‘ठुलो कुरा गर्छस भनेर प्रहरीले उल्टै थर्काए ।’पीडित विश्वकर्माले भने ,‘यसरी ठगिने हामी मात्रै होईनौं त्यहाँ झण्डै चारपाँच सय थुनिएका छन् ।’
दुईलाख दिए पछी थप दुईजना मानिस खोजेपछी मात्रै तलब आउने भन्दै भारतमा बन्धक बनाउने सवै नेपाली नै रहेको पीडितहरुले बताए । त्यहाँ भारतियले उक्त घरभित्र नेपालीले के गर्छन भन्ने पनि थाहा नदिई वन्धक बनाएर राख्ने गरेको पीडितहरुको भनाई छ । प्रहरी कार्यालयमै पुराएपनि आफुहरुलाई भारत पुराएर ठग्ने राउतलाई प्रहरीले छोडेपछी पीडितहरुले यसमा राजनीतिक दबाब पनि भएको हुनसक्ने अनुमान लगाएका छन् । ‘ठुलाबडाकै चलखेलमा यो नेटवर्किङ्ग चलेको छ क्यारे ।’पीडित विश्वकर्माले भने ।
ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले यो सम्बन्धि मुद्दा ६ महिना भित्रसम्म चल्न सक्ने भएकाले फरार भएकी राउतको खोजी प्रहरीले गरिरहेको बताए । ‘नानी विरामी छु भनेर निस्केकी अहिले फोन स्विच अफ छ ’ डिएसपी राईले भने , ‘खोजि गरिरहेका छौं हामी अनुसन्धान गर्छौं ।’
नेपालमा नेटवर्किङ्ग अवैध भएकाले वन्द भएपछी नेपालीहरुले भारतमा वसेर पनि यो काम गर्दै आईरहेको पाईएको छ । यस अघि पनि कटारीका विभिन्न गाउँहरुका स्थानीयहरुले यहि प्रकारको ठगीमा परेको गुनासो गर्दै आएका छन् । नेपालबाट भारत लाने वन्धक बनाउने , नगद ठगी गर्नेलाई गठी , शरिर वन्धक , तथा मानव वेचविखन मुद्दा दर्ता गर्नुपर्नेमा उल्टै प्रहरीले छोडेकाले यसमा मिलेमतो भनसुन समेत भएको हुनसक्ने पीडितहरु बताउँछन् ।