images
images

लेखानीमा कालोपत्रे गर्न कटारी–घुर्मी सडक खण्ड दैनिक आठ घण्टा वन्द हुने

जन्ताभ्वाईस सम्वाददाता
२ पुष , सोमबार , २०८०
कटारी / आजदेखि कटारी –घुर्मी सडकखण्ड दैनिक आठघण्टा बन्द भएको छ । कटारी नगरपालिका अन्र्तगत वडा नम्बर १४ लेखानी , चनौटे खोलादेखि घुर्मी प्रहरी कार्यालय सम्म कालोपत्रेको काम सुरु भएकाले सडक खण्ड बन्द गरिएको हो ।
मिर्चैया –कटारी –घुर्मी सडक योजनाको कार्यालय कटारीका योजना प्रमुख ईन्जिनियर संजयकुमार मिश्रका अनुसार ७ किलोमिटर कालोपत्रेको कामका लागि जनशक्ति सहित निर्माण व्यवसायी तयारी अवस्थामा रहेकाले सडक बन्द गरेर काम सुरु गरिएको हो । कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलले आजदेखि दैनिक ८ घण्टा सडक बन्द गरेर कालोपत्रे भईरहेको बताउनुभयो ।
अधिकारी मण्डलका अनुसार दैनिक विहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म सडकखण्ड बन्द गरिनेछ । ‘वन्दको समयमा अत्यावश्यक एम्बुलेन्स , सुरक्षा तथा दमकल लगायतका सवारी साधन बाहेक अन्य सवारी पूर्णरुपमा चल्न पाउनेछैनन् ।’अधिकारी मण्डलले भन्नुभयो ,‘सडकलाई गुणस्तरीय र बलियो बनाउन सडक नै वन्द गरेर काम गर्नुपरेको हो ।’
पहाडी सडकखण्डमा सानो क्षेत्र भएकाले सडक नै वन्द गर्नुपरेको कार्यालयले जनाएको छ । यस अघि २६ मंसिरमा कार्यालयले ईलाका प्रशासन कार्यालय कटारीलाई पत्राचार गर्दै , नगरपालिकाको कार्यालय , वडा कार्यालय , प्रहरी कार्यालय , यतायाता व्यवसायी संघ समेतलाई जानकारी गराईसकेको छ कार्यालयका अनुसार कालोपत्रको काम लगभग एकमहिना चल्नेछ ।