कटारी , १ खसिबासमा रहेको जगदेश्वरी महादेव गुफामा पुजा आराधना गर्दै भक्तजनहरु । तस्बिर ः ऋषि राई
जन्ताभ्वाईस सम्वाददाता
२७ मंसिर , बुधबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर १ को खसिबास गाउँदेखि दक्षिण चुरे जंगल क्षेत्रमा जगदेश्वरी महादेव गुफा रहेको छ । गुफा पुग्न खसिबास गाउँदेखि दुईघण्टा पैदल हिंड्नु पर्छ ।
प्राकृतिक रुपमा यसको संरचना हेर्दा फरक र आकर्षक गुफा भएपनि यसको प्रचार ,प्रसार र विकास हुन सकेको छैन् ।‘यसको विकासका लागि स्थानीय सरकारको समेत चासो गएको छैन् ।’स्थानीय अगुवा ज्ञानबहादुर तामाङ्ग भन्छन् ,‘धार्मिक रुपमा एकदमै जनविश्वास वोकेको महादेव गुफा हो यो ।’
२०३५ सालमा गुफा फेला परेको थियो । त्यसवेला घना जंगलमा खयरको काठ तस्करी हुने गरेको र एकपटक तस्करीले त्यस गुफामा रातभर लुकेर ज्यान जोगाएको स्थानीय बुढापाका वताउँछन् । ‘यो एकदमै पुरानो गुफा हो ।’कटारी १ वेलसोतका ६५ वर्षिय कमल प्रसाद पोखरेल भन्छन् ,‘यहाँ रातभर खयर काट्ने मान्छे वस्दा झलमल्ल राति नि भएको रहेछ ।’
पोखरेलका अनुसार रातभर यहाँ वसेपछी सपनामा यसको पुजा गरे केहि नहुने देखेको र पुजा आराधना सुरु भएको थियो । द्वन्दकाल अघि यहाँ भारतदेखि समेत दर्शनार्थी आउने गरेको स्थानीय बताउँछन् । द्वन्दकालपछि भने नेपालकै उदयपुर , सिन्धुली , सिरहा आसपासबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।
निरन्तर गुफा माथिबाट झर्ना भर्ने यस गुफामा पुजा गर्नका लागि पानीमा डुबेर जानुपर्ने हुन्छ । चारैतिर चट्टानले भरिएको यस गुफामा छोराछोरी नहुनेले छोराछोरी , जागिर नहुनेले जागिर , धनसम्पति मागेर भाकल गरे पुरा हुने जनविश्वास रहेको छ । ‘भाकल पुरा भएर धेरैले भाकल बुझाउन साना साना वच्चा नै लिएर आउँछन् ।’ थानीय अगुवा ज्ञानबहादुर तामाङ्ग भन्छन् , ‘परेवा उडाउने , सुनको टिका चढाउने लगायतका भाकल गर्ने गर्दछन् ।’
तामाङ्गकै नेतृत्वमा यस वर्षदेखि नयाँ छोटो बाटो समेत खनिएको छ ।मानिस हिंड्ने बाटो झण्डै दुईमहिना लगाएर खनिएको हो । स्थानीय , प्रदेश र केन्द्र सरकारले यसलाई धार्मिक रुपमा प्राथमिकतामा राखेर बाटो र केहि स्थानमा चौतारो , फलैंचा र मन्दिरहरु निर्माण गरिदिए यो धार्मिक पर्यटकीय स्थल बन्ने प्रचुर सम्भावना रहेको छ ।
यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी २ स्थित गराँस र ३ को हडैयाबाट सवारीसाधनमा खसिबासको वाँगेबजार सम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिंडेर यस गुफामा पुग्न सकिन्छ ।