images
images

हरिबोधनी एकादशी मनाईयो , ककनीमा ठूलो मेला , धार्मिकस्थलहरुमा पुजा आराधना

जन्ताभ्वाईस सम्वाददाता
७ मसिंर , बिहिबार , २०८०
कटारी /आज हरिबोधनी एकादशी धुमधामका साथ मनाईएको छ । एकादशीको अवसरमा उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका बर्रे स्थित वडा नम्बर ५ र वडा नम्बर २को सिमास्थलमा रहेको ककनी मन्दिरमा ठूलो मेला लाग्यो ।
ककनीमा मन्दिरमा भाकल गरे अनुसारको पुजा आराधना गर्न लाखौं दर्शनार्थी विहानैदखि पुगेको मेला व्यवस्थापन समितिका अध्यक्ष देब बहादुर तामाङ्गले बताउनुभयो । यहि समयमा उत्पन्न भएको यकिन नभएपनि २०२८ सालदेखि यहाँ हरेक हरिबोधनी एकादशीको अवसरमा मेला लाग्दै आएको स्थानीयको भनाई छ ।
ककनीमाई मन्दिर सिमास्थलको तावाखोलाको किनारमा रहेको छ । यहाँ ४० वर्ष पहिलेदेखि निरन्तर हरेक वर्षको हरिबोधनी एकादशीको अवसरमा ठुलो मेला लाग्ने गरेको छ । यस वर्षको हरिबोधनी एकादशीको अवसरमा पनि ठुलो मेला लागेको थियो ।
हरेक वर्ष २ लाख बढीले यहाँ पुजा आराधना गर्ने गरेका छन् । तावाखोला किनारसँगै जोडिएको मन्दिरबाट ३ किलोमिटर सुरुङ्ग भित्रभित्रै हिंडेर हाडेटार निस्किन सकिने स्थानीय बताउँछन् । धर्म गर्नेहरु मात्रै सो ३ किलोमिटर यात्रा गरेर हाडेटार बजार निस्कने जनविश्वास रहेको स्थानीय बताउँछन् ।
यहाँ पुजा आराधना गर्न उदयपुरगढी गाउँपालिका , उदयपुरकै ताप्ली गाउँपालिका , कटारी नगरपालिकाबाट स्थानीयहरु उल्लेख्य रुपमा आउने गरेका छन् । ४ दशकवढीदेखि धार्मिक साँस्कृतिक महत्व बोकेको ककनीको व्यवस्थापन भने भनेजस्तो हुन सकेको छैन् ।
प्रचार प्रसार अभावसँगै संरक्षण , सम्र्बद्धन , तथा संरचना निर्माणमा भने सरोकारवालाहरु मौन जस्तै देखिएका छन् । तावाखोलासँगै जोडिएको मन्दिरमा सामान्य जस्ताको छानो मात्रै लगाईएको पाईन्छ । यहाँ हरेक हरिबोधनी एकादशीका दिन लाखौंको संख्यामा पुजा आराधना गर्न श्रद्धालुहरु पुग्ने गरेका छन् ।
मेलामा कटारी , लहानका व्यापारीहरु व्यापार गर्न आउने गरेका छन् । त्यसैगरी ताप्ली गाउँपालिकाको सुन्तलाहरुले पनि यहाँ बजार पाउने गरेको छ । यो ककनी यस क्षेत्रकै ठूलो मेला लाग्ने र धार्मिक महत्व बोकेको मेला रहेको मेला व्यवस्थापन समितिका सचिव गणेश पुरीले बताउनुभयो ।
मेलामा तराईका व्यापारीहरुले पुराएका जुत्ता चप्पल लत्ताकपडादेखि आवश्यक सामाग्रीहरु पहाडी भेगका ग्राहकहरुले किन्ने अवसर पाउने गरेका छन् । त्यसैगरी पहाडी भेगमा उत्पादन भएका सुन्तलाहरुले पनि यहाँ निर्यात हुने अवसार पाउने गरेको छ ।
हरेक हरिबोधनी एकादशीको अवसरमा एकदिन लाग्ने मेला भएपनि एकादशीको अघिल्लो दिनदेखि नै यहाँ मेला सुरु हुने गरेको छ । उदयपुरको दोस्रो व्यापारिक केन्द्र कटारीबजारबाट उत्तर तर्पm पाट्ने तावाश्री हुँदै वर्रेमा रहेको यो ककनीसम्म पुग्न मोटरसाईकलमा डेढदेखि २ घण्टा लाग्ने गरेको छ । यहाँसम्म एकादशीमा साना जीप , बोलेरो , ट्याक्टरहरु पुग्ने गरेका छन् ।
यहि धेरै महत्व र श्रद्धालुहरु पुग्ने भएपनि त्यहाँसम्म आउजाउ गर्न बाटोको समस्या रहेको छ । कच्ची गाउँले बाटो त्यहाँ पुग्ने बाटो हो । सोबाटोबाटै उदयपुरको ताप्ली गाउँपालिकाको लेखगाउँ , ईनामे लगायतका स्थानहरु समेत पुग्न सकिन्छ ।
ककनीको थप प्रचार प्रसार , संरचना निर्माण , सडक निर्माण , संरक्षण , सम्र्वद्धन गर्नु आवश्यक रहेको छ । स्थानीय सरकार गठनभएपनि हालसम्म स्थानीय , प्रदेश , केन्द्र कुनै पनि सरकारले यसलाई महत्वमा नराखेको स्थानीयको गुनासो छ । मेलामा विगतमा बनेका व्यवस्थापन समितिले पनि खासै काम गर्न नसकेको कारण यसको विकास हुन नसकेको त्यहाँका स्थानीय बताउँछन् ।
एकैदिन लाखौं श्रद्धालु पुग्ने मेलाको आकर्षणमा वृद्धि गर्ने मन्दिरको महत्वको प्रचार प्रसार गर्ने हो भने यो स्थान धार्मिक पर्यटनको राम्रो सम्भावना वोकेको स्थान हो । वरपर चारैतिरका हरियाली डाँडाँकाडाँ सँगै वगिरहेको सफा तावाखोलाको सुसेली मनमोहक धानखेतका वीचमा रहेको ककनीलाई सवै सरोकारवालाहरुले विकासमा ध्यान पुराउनु आवश्यक छ । यसको उत्पति , यसको महत्वको बारेमा थप खोज अनुसन्धान गर्दै प्रचार प्रसार गर्दै जाने हो भने ककनी जिल्लाकै हरिवोधनी एकादशीमा लाग्ने ठुलो मेलाको रुपमा स्थापित हुने सम्भावना समेत छ ।
त्यसैगरी उदयपुरकै कटारी नगरपालिका वडा नम्बर १० मा रहेको ककनीमा पनि आज ठूलो मेला लागेको छ । यहाँ पनि हिजोदेखि नै दर्शनार्थीहरु पुगेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले जानकारी दिनुभयो । यहाँको ककनी मन्दिर पनि एकादशीमा मेला लाग्ने ठूलो धार्मिकस्थल हो । त्यसैगरी कटारी ३ को महादेव गुफामा पनि दर्शनार्थीहरुले पुजा आराधना गरेका थिए ।कटारी १ खसिबासको जगदेश्वरी महादेव गुफामा पनि दर्शनार्थीहरु पुगेको स्थानीय बताउँछन् ।
कटारी , ३ कै च्याँगाबाट चुरे वन क्षेत्रमा रहेको शलेस मन्दिरमा पनि आज पुजा आराधना गर्न दर्शनार्थीहरु पुगेका थिए । त्यसैगरी आज नै दनुवार जातिले मनाउने बड्की एकादशी दनुवार समुदायको ठूलो पर्व रहेकाले कटारी नगरपालिकाले सार्वजनिक विदा समेत दिएको थियो ।