images
images

अनुदानको वीऊले रोपेको धान छिमले भएपछी क्षतिपूर्ति माग्दै कृषक

जन्ताभ्वाईस सम्वाददाता
१५ असोज , सोमबार , २०८०
कटारी / कटारी , ४ तित्रीबोटका कृषक मोहन दनुवारले गतवर्ष नगरपालिकाले पचास प्रतिशत अनुदानमा दिएको धानको वीऊले राम्रो आम्दानी दिएपछी यस वर्षको अनुदानको वीऊमा भर परे । उनले कटारी नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा दिएको रामधान जातको वीऊ १ बोरा लिएर २५ कट्ठामा रोपे ।
दनुवार गुणस्तरीय धानको वीऊ भनेर यस वर्ष मनग्य फसल फल्नेमा ढुक्क थिए । तर फल्ने वेला धान एकरुपले पसाएन । ‘कोही अस्ति नै पसाईसक्यो , कोही पसाउने तयारीमा छन् , कोही त पसाउन तयारीमा पनि छैन् ।’दनुवारले भने ,‘छिमले भयो पहिलाको पाकेर झर्दा अरु पसाउला जस्तो छ । ’
कटारी , ३ ताराघारीका अमित श्रेष्ठले पनि गत वर्ष रामधान जातका धानको वीऊ नगरपालिकाबाटै ल्याएर २ कट्ठामा परिक्षण गरेका थिए । ‘त्यतिवेला प्रशस्त फल्यो हौसिएर यसवर्ष १५ कट्ठामा अनुदानमा गुणस्तरीय वीऊ लगाए ।’श्रेष्ठले भने , ‘यस वर्ष त धान त फल्ने भन्दा पनि कोही फल्ने कोही फल्दै नफल्ने विरुवा मात्रै वढ्ने भयो ।’
ताराघारीकै युवराज अधिकारी वडा सदस्य पनि हुन् । उनले पनि वडाबाट अनुदानको वीऊ १० कट्ठा बढीमा लगाए । उनको खेतमा पनि धानले उत्पादन दिने लक्षण देखाएन् । ‘तिमिहरुले के वीऊ दिएको भनेर गाउँलेले लखेट्ने वेला भईसक्यो ।’वडा सदस्य अधिकारीले थपे , ‘यस पटक कृषक ठुलो मारमा परे । ’
पचास प्रतिशत अनुदानमा प्रतिकिलो ३३ रुपैंयामा वीऊ लिएका कृषक अहिले खेतको धानको अवस्था देखेर चिन्तामा डुबेका छन् । ‘यस्तो लापर्वाही पनि कृषकसँग गर्नुहुन्छ ।’कृषक दनुवारले भने , ‘कृषक त मरेजस्तै भयो यस वर्ष यसको क्षति कसले व्यहोर्ने ।’
अर्का कृषक श्रेष्ठले जसरी भएपनि राहत पाउनुपर्ने बताए । ‘वर्षभरी खानुपर्ने धान नफलेपछी हामीलाई क्षतिपूर्ति दिनुपर्छ , नत्र कालले छोड्ला छोडिन्दैन् ’कृषकहरुले धान फल्ने वेला उत्पादन नदिएपछी क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् ।
नगरपालिकाका कृषि शाखका प्राविधिक तथा वीऊ खरिदका लागि वीऊ विजन उत्पादन , आपुर्ति तथा व्यवस्थापन हेर्दै आएका रविन्द्र राईले कृषकहरुलाई दिईएको धान एकनाशले नपसाएपछी आपुर्तिकर्तालाई अनुगमन निरिक्षणमा वोलाएको बताए । ‘वीऊ खरिदका लागि डिजिटल ईनावेल सिड म्यानेजमेन्ट सिस्टम (डिजेज)मार्पmत प्रकृया पुराएर वीऊ खरिद गरेका थियौं । ’राईले भने , ‘नगरभरीको किसानले लगेको वीऊको उत्पादनमा समस्या देखियो ।’
नगरपालिकाले खरिद प्रकृया अन्र्तगत सर्लाहीको श्रीकृष्ण कन्हैया उपभोक्ता सहकारी संस्थाबाट ३ हजार ३ सय ५० किलो रामधान जातको वीऊ नगरपालिकामा ल्याएर वितरण गरेको थियो । संस्थाका अध्यक्ष सन्जय प्रसाद साहले वीऊबाट उत्पादनमा समस्या आएको स्विकार्दै राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्र्तगतका प्रतिनिधिहरुलाई कृषक समक्ष ल्याएर छलपल गर्ने बताए । कृषक तथा जनप्रतिनिधिहरुले भने वीऊले उत्पादन नदिएपछि क्षतिपूर्ति आपुर्तिकर्ताले नदिए कानुन बमोजिम कार्वाही गर्ने बताउँदै आएका छन् ।