-सुदिप बराल
शिक्षा, स्वास्थ्य ,कृषि ,पूर्वाधार सुधारका लागि नगर प्रमुख तथा पालिकाबाट अहिले सम्म जे जति पहलकदमी भएका छन,जनमुखी र सकारात्मक देखिन्छ । बिगत मा हामी सबैलाई थाहा छ मुश्किलले असी नब्बे जना बिरामी आउने कटारी अस्पतालमा अहिले दैनिक तीनसय , चारसयले उपचार पाइरहेका छन ।
यसको मूख्य कारण भनेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले अस्पतालमा कर्मचारी ब्यबस्थापन ,अति आबस्यश्यक सामग्री खरिदमा गरेको लगानी र कुशल ब्यबस्थापन हो । आज सर्पदंश उपचार कटारी अस्पताल बाट नै हुँदै आएको छ । त्यसै गरी वडाहरुमा स्वास्थ्य चौकी तथा प्रसुती गृहबाट प्रदान गरिने सेवालाई चुस्त दुरुस्त राख्न स्वास्थ्य शाखा तथा वडासँग समन्वय गर्दै आउनु भएको छ ।
साथै कटारी अस्पताललाई प्रादेशिक अस्पताल स्तरमा वृद्धि गरी तीन चार जिल्लाको हबको रुपमा बिकास गर्न अहोरात्र लागि रहनु भएको छ र सायद सरकार स्थिरता भए सम्भावना देखिएको छ । बिगतमा बिद्यालयहरुमा तीन चार जना शिक्षक भएको ठाउँमा तीन चार जना मात्र विद्यार्थी हुनु र एकसय दुईसय विद्यार्थी भएकोमा एकदुई जना शिक्षक मात्र हुनु ,बिषयगत शिक्षक नहुनु ,शक्ति र बलकोभरमा आफुलाई अनुकुल हुने ठाउँमा मात्र शिक्षक जाने जस्ता यावत समस्याले जगडिएर भताभुङ् भएको शिक्षा क्षेत्रलाई सुधार गर्न दरबन्दी मिलान कार्यबिधी बनाई कार्यन्व्यन गर्नु पनि ठूलो चुनौती थियो जुन आज लागू गरिएको छ ।
एक वडा एक नमुना विद्यालयका लागि यस बर्ष नगरबाट बजेट बिनियोजन भएको छ । अन्य बिषय पढाई भएता पनि अहिले सम्म नगरपालिका भित्र कुनै पनि बिद्यालयमा बिज्ञान संकाय सुचारु नहुनु पनि बिडम्बना को कुरा थियो । जबकी प्लस टु लेबल साईन्स पढन बिराटनगर,धरान ,काठमाडौ जस्ता सहरहरु जानू पथ्र्यै ,सामान्य परिवारलाई रुचि भएर पनि यो सम्भब थिएन तर नगर प्रमुखले निशुल्क शिक्षण गराउने घोषणा गर्नु भयो ।
जुन शिक्षा प्रेमीहरुको लागि अतिनै महत्त्वपूर्ण निर्णय थियो । अहिले अधिकांश विद्यार्थीहरुले प्लस टु तथा स्नातक तहमा व्यवस्थापन विषयलार्ई रुचाएको देखिन्छ । यसको कारण भनेको बित्तीय क्षेत्रमा रोजगारको अबसर तुलनात्मक रुपमा बढी हुनु , बैक,फाइनान्स ,लघुबित्त ,सहकारी तथा लेखा क्षेत्रमा कामको अबसर तुरुन्तै पाइने तथा अध्ययन खर्च पनि धेरै नलाग्ने हँुदा यो हाम्रो नगरपालिकामा विद्यार्थी भाइ बहिनीहरुको भबिष्यसँग जोडिएको अपरिहार्य शिक्षा भएको छ ।
नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले बिविएस संञ्चालन बिषयलाई प्राथमिकतामा राखेर शिक्षा शाखा र उदयश्री बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकेश थापासँग छलफल गर्नु भएको छ । त्रिभुवन युनिभर्सीटीबाट सम्बन्धन प्राप्त विषयले केही समय लाग्ने देखिएको छ होइन भने विकल्पमा अन्य क्याम्पससँग दर्ता किनेर भएपनि संञ्चालनमा ल्याउनु पर्ने हुन्छ । साथै प्राबिधिक शिक्षा , ओभरसियर,स्टाफ नर्स,ल्याब टेक्निसियन ,अनमी आदि संञ्चालन गर्ने बिषयमा पनि अन्य जिल्लामा संञ्चालनमा रहेको प्राबिधिक ईन्स्टिच्युटसँग खर्च लगायत अन्य प्राबिधिक बिषयमा अध्ययन भैरहेको छ ।
कृषीमा नगरले पकेट क्षेत्र घोषणा गरि त्यही अनुसारको उत्पादन र अनुदानलाई निरन्तरता दिंदै आएको छ । बिशेषगरि कृषि क्षेत्रमा तरकारी, फलफुल,अदुवा,अकबरे खुर्सानी ,टमाटर,केरा आदि र पशु क्षेत्रमा गाई र भैंसी पालन,बंगुर पालन,कुखुरा पालन ,माछा पालन आदि क्षेत्रमा नगरले प्रोत्साहन गर्दै आएको छ । कृषि उत्पादनलाई वृद्धि गर्न कृषी कार्यक्रम अन्तर्गत विभिन्न वडाहरुमा कुलो निर्माण तथा मर्मत सम्भार,कृषि मोटर जडान,सिचाई पाईप ,बीउ बिजन ,टनेल,हाते ट्याक्टर , भकारो सुधार ,उन्नत जातका बीऊ बोका आदिमा नगरले लगानी गर्दै आएको छ ।
नगर प्रमुखले वडा न ११, गहँुबारीमा एउटा चिस्यान केन्द्र निर्माण गर्न तत्कालिन योजना बनाउनु भएको छ र त्यसको लागि प्रदेश सरकारसँग पहल गर्नु भएको छ भने अदुवालाई सुठो बनाउन सकिने उपाएको बिषयमा अदुवा कृषकसँग छलफल भएको छ । पुर्वाधार तर्फ पनि कामहरु भइरहेका छन , धेरै समस्याहरु छन तर सिमित बजेटमा नगरले आफुले सकेको सडक स्तरउन्नति,मर्मत सम्भार,नयाँ ट्र्याक,कल्भर्ट निर्माण जस्ताकामहरूमा लगानी गरेको छ ।
त्यसैगरी प्रदेश तथा संघिय सरकारसँगको पहलमा ठाउँ ठाउमा झोलुङ्गे पुल,बेलीबृज,पक्की पुल,सडक कालोपत्रे , बिद्यालय भवन,कार्यालय भवन निर्माण ,प्रशासनिक भवन निर्माण,वडामा बिद्युत बिस्तार लगायतका कामहरु भएका छन । ठुला योजनाका काममा नगरको बजेटबाट सम्भब नभएकाले नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ ,केन्द्र र प्रदेश मन्त्रालयमा पहलका लागि पटक पटक धाउनु भएको छ ।
खेलकुद क्षेत्रलाई प्रभाबकारी बनाउन नगर प्रमुखले नगरखेलकुद कार्यविधि बनाई समिती गठन गर्नु भएको छ । नगरबाट बिनियोजनका लागि प्रर्याप्त बजेट नभएता पनि खेलकुद भवन मर्मत तथा निर्माण ,खेल सामग्री खरिद जस्ता कार्यहरु भएका छन । फुटबल,ब्याडमिन्टन,रग्बी लगायतका खेल प्रतियोगिताहरु नगर खेलकुद समितीले गरेको छ भने भलिबल ,कराँते जस्ता प्रतियोगिताहरु गर्ने तयारी गरिरहेको छ ।
नगरको सहयोगमा कटारीबाट झापाको बिर्तामोडमा इन्डिया ( नेपाल कराते प्रतियोगितामा सहभागी भइ धेरै मेडल हात पार्न सफल भएको छ भने त्यसैगरी इन्डिया १६ वर्षमुनिको फुट्बल प्रतियोगिता कटारी प्रथम हुन सफल भएको छ । यस्ता धेरै खेलकुद प्रतियोगिताहरुमा नगरले केही न केहि रकम सहयोग गर्दै आएको छ । विद्यालयमा रास्ट्रपति रनिङ शिल्ड अन्तर्गत खेलकुद कार्यक्रम सन्चालन गरिएको छ । आफुलाई रुचि भएको खेलमा विद्यार्थी भाइबहिनीहरुले सहभागी हुने मौका मिलोस र प्रतिभा पहिचान हुन सकोस भन्ने उद्देश्यले सबै खेल विधामा प्रतियोगिता गराउन नगर प्रमुखले प्रर्याप्त रकम नगरबाट बिनियोजन गर्नु भएको थियो ।
स्वास्थ्य नै धन हो ,एक कुशल ,अनुसाशित ,स्वस्थ्य ब्यक्ति राष्ट्रको सम्पत्ति हो ,खेलबाट नै मानिसको शारीरिक ,मानसिक वृत्ति बिकाश हुने , स्वास्थ्य र अनुसाशनको लागि पनि खेल अनिबार्य भएको हुनाले खेल क्षेत्रमा नगर प्रमुखले त्यतिनै प्राथमिकतामा राखी युबा तथा खेलकुद मन्त्रालयसँग पनि सहयोगका लागि पहल गर्नु भएको छ ।
लामो समयदेखी विवादित कान्छी बजार सडक क्षेत्रमा पानी जम्ने समस्या ,वडा न ३ र ४ को भित्री सडकमा बिबादित नाला समस्या,घुर्मी बजार क्षेत्रको समस्या ,डम्पिङ क्षेत्र ,कटारी खानेपानीमा सर्ब साधरणको पहुचको अवस्था नहुनु लगायतका साना ठुला थुप्रै बिगतमा पटक पटकको प्रयासमा पनि सामधान हुन नसकेका समस्याहरु नगर प्रमुखको रणनीतिक क्षमता तथा कौशलले सफल भएको छ ।
आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकेर बसिरहेका १८ जनाको यस बर्ष नगर प्रमुखले आफ्नो ब्यक्तिगत खर्चबाट काठमाडौ तथा बिराटनगरमा उपचार गराउनु भएको छ । आफ्नो पारश्रमिकबाट गरिब दुखिको उपचारमा खर्च गर्छु भनेर गर्नु भएको प्रतिबद्धता अनुसार उपचार गर्दै जाने क्रमम झन्डै ३ दोब्बर बढि उपचार खर्च ब्यहोर्नु भएको छ । साथै नगरबाट पनि १०० भन्दा बढी आर्थिक अबस्था कमजोर भएका बिरामिहरुलाई आर्थिक सहायता पुर्याएको छ ।
राज्यमा तीन तहको सरकार भएता पनि प्रत्यक्ष जनतासँग सरोकार राख्ने सरकार भनेको स्थानिय सरकार हो । प्रत्यक्ष जनताको दुख,गुनासो र समस्या जनप्रतिनिधिले सुन्नु पर्छ र समाधान पनि गर्दै जानु पर्छ । नगरको सिमित श्रोत र साधनबाट धेरै जन अपेक्षा पूरा गर्नु पर्ने हुन्छ जुन एकै पटक सम्भव छैन । त्यसैले नगर प्रमुखले प्राथमिकताका आधारहरु बनाएर कामहरु गर्दै आउनु भएको छ । अनुत्पादक क्षेत्रलाई निरुत्साहित गर्दै ,उत्पादक क्षेत्रमा प्रोत्साहन गर्ने रणनीतिका साथ कामहरु अगाडि बढाउन शाखाहरुलाई निर्देशित गर्नु भएको छ ।
पहिलो बर्ष कतिपय अधुरो रहेर बसेको नीति नियम ऎन कानुनलाइ पुर्णता दिने काम भएको छ । जसले गर्दा नगरलाई सहज सेवा प्रवाह, सुशासन , पारदर्शिता कायम गर्दै जनउत्तरदायी भई काम गर्न अझ बढी टेवा पुगेको छ । सकारात्मक सोच , सकारात्मक बिचारले काम गर्दै जाँदा ढिलो भएपनी पक्कै रिजल्ट राम्रो आउँछ,समग्र नगर बिकासमा नगर प्रमुखको जुन अठोट छ त्यो कायम राख्दै आगाडि बड्दा अबको ४ बर्षमा धेरै कुराहरु सम्भब छ र नगरवासीहरुको आस र भरोसा पनि मर्न दिनु हुने छैन र यहाँहरुसँगको प्रतिबद्धता पूरा गर्नु हुने नै छ । अहिले सम्म यहाँहरुले गर्नु भएको साथ र सहयोग सदैब कायम रहने छ भन्ने पुर्ण बिश्वास लिएका छौ ।
(लेखक बराल कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठको सचिवालय प्रमुख हुनुहुन्छ )


जनता भ्वाइस 







