images
images

अदुवामा रोग लागेपछी किसान चिन्तित

जन्ताभ्वाईस सम्वाददाता
२५ भदौ , सोमबार , २०८०
कटारी / अदुवामा रोग लागेपछी कटारीका किसान चिन्तित बनेका छन् । उत्पादन दिने बेलामा बोट नै पहेंलो हुने र कुहिने रोग लागेपछी व्यवसायिक रुपमा अदुवा खेति गर्दै आएका किसान चिन्तित बनेका हुन् ।
कटारी नगरपालिकाको सवैभन्दा बढी अदुवा उत्पादन हुने वडा नम्बर ११ मा यसपटक अदुवा उत्पादन घट्ने भएको छ । ‘पहेंलो हुने र मर्ने भएपछी अदुवाबाट किसानले ठुलो क्षति भोग्नु परेको छ । ’कटारी ११ का कृषक नुजराज कार्कीले भन्नुभयो ‘यसपटकको खडेरीले दान कुहिने रोग लागेको हो ।’
उक्त वडामा मात्र वर्षेनी किसानहरुले ६० लाख सम्मको अदुवा वेच्दै आएकोमा यसपटक उत्पादन घट्ने देखिएको पनि कार्कीले बताउनुभयो । किसानका अदुवामा रोग लागेको भन्दै वडाध्यक्ष अनन्त हायुले उत्पादन जोगाउन नगरपालिकाले औषधि गरिरहेको बताउनुभयो ।
नगरपालिकाका कृषि शाखाका प्राविधिक रविन्द्र राईका अनुसार कटारीको कृषकहरुको अदुवामा पिथियम रोग लागेको हो । ‘यसले बोट पहेंलो हुने र गाना कुहिने गर्छ । ’प्राविधिक राईले भने ‘क्रमश अदुवाको बोटहरु ढल्दै जान्छन् ।’
प्राविधिक राईका अनुसार किसानका अदुवाको नमुना वाली रोग अनुसन्धान खुमलटार पठाईएको थियो । खुमलटारले पिथियम रोग पुष्टि गरेको हो । रोग पुष्टि भएपछी नगरपालिकाले कृषकहरुको घरघरमै पुगेर औषधि छर्किएको छ ।
नगरपालिकाको कृषि शाखाका अनुसार नगरपालिकाको वडा नम्बर ८ , ९ , १० , ११ , १२ , १३ र १४ मा अदुवा खेति हुने गरेको छ । उक्त वडाहरुमा शाखाका प्राविधिकहरुले अदुवामा औषधि छर्किरहेका छन् । कटारी नगरपालिकाबाट मात्रै वर्षेनी करोडौंको अदुवा निर्यात हुने गरेको छ ।
यहाँको अदुवा , कटारी बजार , गाईघाट , सिन्धुली देखि नेपालको पूर्वी सहर काकटभिट्टाहुँदै भारतसम्म निर्यात हुने गरेको कृषकहरु बताउँछन् । वर्षेनी राम्रो उत्पादन दिएको अदुवामा यसपटक भने रोग देखिएपछी किसान चिन्तित बनेका हुन् ।