images
images

कान्छी बजारको पानी जम्ने खाल्डोको समस्या समाधान गर्न स्थलगत अनुगमन

जन्ताभ्वाईस सम्वाददाता
१५ जेठ , सोमबार , २०८०
कटारी/ कटारी नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा रहेको कान्छी बजार स्थित सिद्धिचरण राजमार्गको पानी जम्ने खाल्डोको समस्या समाधानका लागि आज स्थलगत निरिक्षण गरिएको छ । कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले यसको समाधान तत्काल गर्नका लागि मिर्चैया– कटारी– घुर्मी सडक आयोजना कार्यालयका आयोजना प्रमुख सन्जय कुमार मिश्रसँग स्थलगत अनुगमन निरिक्षण गर्नुभएको हो ।
मूख्य सडकमै पानी जम्दा वर्षौदेखि समस्या भोग्नु परेको भन्दै मेयर श्रेष्ठले सडकको क्षेत्र अधिकार भित्र रहेको सडकखण्डमा तत्काल समस्या समाधान गर्न आयोजना प्रमुख मिश्रलाई आग्रह गर्नुभयो । मेयर श्रेष्ठ , आयोजना प्रमुख मिश्र ,वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , ४ का अध्यक्ष भूपेश योञ्जन , ७ का अध्यक्ष सुविन ढुंगाना लगायतकका सरोकारवालाहरुले उक्त खाल्डोको स्थलगत अनुगमन गरेका थिए ।
स्थलगत अनुगमन पश्चात कार्यालयका योजना प्रमुख मिश्रले यो खाल्डोलाई यसवर्षका लागि अस्थायी निकास तत्काल निकाल्ने गरी काम गर्ने बताउनुभयो । यस सडकखण्डको बहुवर्षे ठेक्का लाग्ने तयारी भईरहेकाले ठेक्का लागेपछी आगामी वर्षमा यसको दिगो समाधान सहितको सडक निर्माण हुने बताउनुभयो ।
दिगो सडक निर्माण नभएसम्मका लागि तत्काल स्थानीय सरकारसँगको समन्वयमा पानी जम्ने खाल्डोबाट पानी निकास गर्न सकिने बताउँदै प्रमुख मिश्रले काम थाल्ने बताउनुभयो । सडक क्षेत्र भित्र सडकले निकास निकालेपछी अन्य समस्या समाधानका लागि नगरपालिकाले काम गर्ने मेयर श्रेष्ठले बताउनुभयो ।
सडकको क्षेत्रमा पर्ने स्थानमा सकड आयोजना कार्यालयले र त्यसका अलावा स्थानीय सरकारले गर्ने क्षेत्रमा स्थानीय सकारकाले काम गर्ने गरी तत्काल समस्या समाधान गर्न पहल गरिरहेको मेयर श्रेष्ठको भनाई छ । उक्त सडकखण्ड राष्ट्रिय राजमार्गमा पर्ने र यसका लागि सडक आयोजनाले काम गर्नुपर्ने , स्थानीय सरकारले काम गर्न नमिल्ने भएकाले आयोजनासँग समन्वय गरी यस वर्ष तत्कालका लागि समाधान र आगामी वर्षहरुमा दिगो रुपमा सडक निर्माण गरी दिर्घकालिन समाधानका लागि पहल गरिरहेको मेयर श्रेष्ठको भनाई थियो ।
उक्त स्थानमा पानी जम्ने र यस सडकखण्डमा आउजाउ गर्नेलाई समस्या हुनुका साथै वरपरका स्थानीय पीडित भएको भन्दै समस्या समाधान गर्न मेयर श्रेष्ठले आयोजना कार्यालयसँग छलफलको आयोजना गर्नुभएको थियो । यस सडकखण्डमा जम्ने पानीका कारण धेरैले समस्या भोग्दै आएको र यसकै कारण विगतदेखि वर्तमान सम्म जनप्रतिनिधिहरुको व्यापक आलोचना समेत खेप्दै आएका छन् ।
विगतमा यहाँ जम्ने पानीका कारण समस्या भएको भन्दै कागजका डुँगा चलाउने देखि लिएर बाटालाई डुंगा बनाएर सांकेतिक विरोध समेत हुँदै आएको छ । वर्षा हुनुवित्तिकै यहाँ जम्ने पानीले आउजाउमा समस्या पार्ने गरेको छ ।