images
images

चिट्ठा पर्यो भनेर ठगी गर्ने कटारी का २ सहित ३ जना पक्राउ

जन्ताभ्वाईस सम्वाददाता
३१ वैशाख , आईतबार , २०८०
गाईघाट/ जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जालमा चिट्ठा पर्याे भनेर ठगी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाई समाजिक सञ्जालमा ठगी गरेको आरोपमा कटारी वडा नम्बर ३ का उज्वल थापा मगर र विशाल थापा पक्राउ परेका हुन् । त्यसैगरी चितवन रत्ननगर २ का सुशिल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी ठगीमा संलग्नहरुलाई सार्वजनिक गरेको हो । पछिल्लो समय समाजिक सञ्जाल तथा मोवाईलमा फोन गरेर चिट्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले तीन जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको छ ।
पक्राउ परेका व्यक्तिहरुको समूहले त्रियुगा नगरपालिका ३ का उदय राईलाई सामाजिक सञ्जाल ह्वाट्स एपमा २५ लाखको चिट्ठा पर्याे रकम प्राप्त गर्न कर तिर्नको लागि भनेर २२ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठगी गर्ने समूहले विभिन्न व्यक्तिको बारेमा अध्ययन गर्ने, सामाजिक सञ्जालमा विभिन्न प्रलोभन सहितको लिंक पठाउने, चिट्ठा परेको भनेर फोन गर्ने र चिट्ठा वापतको रकम प्राप्त गर्ने कर वापतको पैसा इसेवा, आएमी पे, कनेक्ट आईपिएस लगाएतबाट पैसा पठाउन लगाएर ठगी गर्ने गरेको उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुँयालले बताउनुभयो ।
प्रहरीका अनुसार ठगी गर्ने समूहले विभिन्न जिल्लाबाट पैसा प्राप्त गरेको रेकर्ड फेला परेकाले ठगीमा परेको संख्या ठूलो हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई नै जिल्ला अदालतबाट मुलुक अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा ६ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको छ ।