जन्ताभ्वाईस सम्वाददाता
१४ चैत्र , मंगलबार , २०७९
गोलबजार /सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि आज नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ताले मोबिल छ्यापेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला सेवाग्राहीका रुपमा आएका एक व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका हुन् ।
मोबिल मेयर श्रेष्ठको शरीर र गाडीमा लागेको थियो ।मेयर श्रेष्ठ सदरमुकाम सिरहामा आयोजित जिल्ला परिषदमा जानलाई गाडी चढ्ने बेलामा मध्यान्ह १२ बजे एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डलले बताउनुभयो ।
गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले कार्यालयबाट सदरमुकाम जान गाडी चढ्ने बेलामा आफूमाथि मोबिल प्रहार भएको बताउनुभयो । मोबिल प्रहारमा संलग्नलाई जनताले तत्काल पक्राउ गरेर प्रहरीमा बुझाएको पनि उहाँले बताउनुभयो ।
मोबिल छ्याप्नेहरुले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ । छरिएको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।
(ईकान्तिपुरबाट साभार )


जनता भ्वाइस 







