images
images

दुधौलीवासीलाई जहिले हात्तीकै दुख

रासस
१४ चैत,मंगलबार , २०७९
दुधौली/ सिन्धुलीको दूधौली नगरपालिकावासीलाई जहिले हात्तीले दुख दिने गरेको छ । यो सातापनि दुधौली –३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जङ्गली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो । सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि घरमा राखिएका फ्रिज, टीभी र अन्य पसलका सामान भने बचाउन सकेनन् ।
यतिबेला हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहेका छन् । गत शनिबार बिहान ३ बजे सोनार दम्पतीको घर भत्काएर गएका दुई वटा हात्ती दिनहुँ साँझपख गाउँमा पसेर विध्वंश मचाउन थालेका छन् । चार दिनयता मात्रै हात्तीले १५ वटा घर भत्काएको वडाध्यक्ष भद्राकुमारी माझीले बताउनुभयो ।
दिनभरी जङ्गल बस्ने र साँझ परेपछि बस्ती आउने हात्तीले घरभित्र थन्काइएको र खेतबारीमा लगाइएको अन्नबालीमा समेत क्षति पु¥याएको छ। पोलेर खाने बेला भएको दूधे मकै, थन्काउन लागिएको गहुँ, कोभी, सागलगायत तरकारी नष्ट गरेको वडाध्यक्ष माझीको भनाइ छ ।
हात्तीबाट हुने क्षति दीर्घकालीन रुपमा समाधान गर्न नगरपालिका र डिभिजन वन कार्यालयसँग सहयोगको याचना गरिरहेको भए पनि हालसम्म कुनै उपाय नसुल्झिएको उहाँले बताउनुभयो ।