जन्ताभ्वाईस सम्वाददाता
९ चैत्र , विहिबार , २०७९
कटारी / कटारी नगरपालिकामा रहेको सुरक्षित आवास गृहमा चालु आर्थिक वर्षको अवधिमा ४५ जना हिंसा पिडित महिला हरुले सेवा लिएका छन् । चालु आर्थिक वर्षको श्रावण महिना देखि फाल्गुण महिना सम्म १५ वर्ष भन्दा मुनिका २ जना, १५ देखि ४९ वर्ष उमेर समुहका ४१ जना र ४९ वर्ष भन्दा माथिका २ जनालाई सेवा दिइएको तथ्यार्क सार्वजनिक भएको हो ।
कटारी नगर उपमेयर गिता खड्काको अध्यक्षतामा आज लैगिंक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गतको स्थानीय परियोजना सल्लाहकार समितीको बैठकमा प्रस्तुत गरिएको प्रतिबेदनमा कटारी नगरपालिकामा संचालित मनोसामाजिक परामर्श कर्ताको सम्पर्कमा एक वर्षको अवधिमा ३ सय ८६ जना हिंसापिडितहरुले सेवा पाएको तथ्याँक सार्वजनिक गरिएको थियो ।
सम्पर्कमा आएका हिंसा पिडितहरुमध्ये १ सय ६७ जना महिलाहरु भावनात्मक तथा मानसिक रुपमा पिडित भएका हरु आएका थिए भने स्रोत साधनबाट वञ्चित ४५ जना तथा शारिरिक रुपमा हिंसामा परेका ३८ जना थिए । यसै गरी हिंसा पिडितहरु मध्य पहाडी जनजातिहरु १ सय ६० जना र पहाडी ब्राम्हण समुदायका ९७ जना जना रहेका छन् ।
कार्यक्रममा नगर उपप्रमुख गीता खड्काले लैगिक समानता तथा हिंसा रहित समाज निमार्णको समाजका सरोकारवाला सबैको चासो तथा अग्रसरताले मात्र सम्भव हुने बताउदै सबैलाई यस अभियानमा जुट्न आग्रह गर्नु भयो । उहाले पछिल्लो समय चेतना भएको मान्छेहरु बाटनै धेरै हिंसाका घटनाहरु घटने गरेको भन्दै महिलाहरुलाई हेप्ने तथा होच्याउने प्रवृतिको घटनाहरु अझै पनि व्याप्त रहेको बताउनु भयो ।
बैठकमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरपालिकाले निमार्ण गर्ने योजना लंैगिक उतरदायित्व मैत्री हुने र लैगिक हिंसा शुन्य नगरपालिका बनाउने अभियानमा कटारी नगरपालिकाले विभिन्न अभियानहरु संचालन गरिरहेको बताउनु भयो ।


जनता भ्वाइस 







