images
images

उदयपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम स्थगित

जन्ताभ्वाईस सम्वाददाता
३ फागुन , बुधबार , २०७९
कटारी /उदयपुर उद्योग वाणिज्य संघ कटारीको १६ औं साधारण सभाको बन्द सत्रले तोकेको आजको निर्वाचन तालिका अनुसारको निर्वाचनका सवै कार्यक्रमहरु स्थगित भएको छ । बन्द सत्रमा गणपुरक संख्या नपुगी कार्यक्रम अघि बढाएको भन्दै निवेदन परेपछी निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको संघका अध्यक्ष पुष्कर खड्काले बताउनुभयो । गणपुरक संख्यामाथि प्रश्न चिन्ह खडा गर्दै धनबहादुर कटुवालले निवेदन दिनुभएको बताईएको छ ।
अध्यक्ष खड्काका अनुसार निवेदन पश्चात आवश्यक छलफल जारी रहेको र सहमति नभएसम्मका लागि आजदेखिका कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ । वन्द सत्रको गणपुरक संख्या नपुगेको प्रमाणित भएमा वन्द सत्रले गरेको कार्यक्रम तथा गठन गरेको निर्वाचन मण्डल , निर्वाचन अधिकारी लगायतका समितिहरु स्वत खारेज हुने देखिन्छ ।
वन्द सत्रले ३ सदस्यिय निर्वाचन समिति गठन गरेसँगै निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।
समितिको संयोजकमा धु्रवसिंह कार्की र सदस्यमा सविन खान र शंकर कुमार कटुवाल रहेका थिए । त्यसैगरी निर्वाचन अधिकृतमा अधिकारीमा विष्णु पौडेल र कर्मचारीमा टेकराज निरौला र प्रकाश खड्का रहेका छन् ।
निर्वाचन अधिकारीको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार अध्यक्ष १ , वरिष्ठ उपाध्यक्ष १, प्रथम उपाध्यक्ष १ , दित्तिय उपाध्यक्ष १ ,महासचिव १ , सचिव १ , कोषाध्यक्ष १ सहसचिव १ र ९ सदस्य गरी १७ पदका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो ।
तालिका अनुसार आज विहान ८ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता , आज नै नामावली प्रकाशन , दावी विरोध , नाम फिर्ता लिने , तथा आज दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम थियो । उमेद्वारका लागि निर्वाचन भने ६ फागुनमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम सार्वजनिक गरिएको थियो ।
संघका एकहजार २ सय ४ जना मतदाता रहेका छन् ।