जन्ताभ्वाईस सम्वाददाता
१३ माघ ,शुक्रबार , २०७९
कटारी /कटारी नगरपालिका वडा नम्बर १ वेलसोतका ६६ वर्षिय तुलमान माझीको दशकअघिसम्म ५ विघा खेत थियो । खेतकै उत्पादनले माझी परिवारलाई खान , लाउन र अन्य खर्च जोहो गर्न पुग्थ्यो ।तर कमला नदीको कटानका कारण अहिले माझी परिवारसँग जम्माजम्मी ५ कट्ठा खेत मात्रै वाँकी छ । अन्य सवै खेत वगरमा परिणत भईसकेको छ ।‘खेत बगर भयो अहिले विहान वेलुकाको छाक टार्न समेत समस्या छ ।’माझीले भन्नुभयो ।
त्यसैगरी ओखलढुंगाबाट २०४१ सालमा चामल उत्पादन हुने स्थान खोज्दै कटारी वडा नम्बर २ गराँस आईपुगेका दिपबहादुर पौडेलले १५ कट्ठा खेत किनेर धान उत्पादन गरि परिवार पाल्दै आएका थिए । तर अहिले पौडेलसँग पनि जम्मा २ कट्ठा खेत मात्रै वाँकी छ , अन्य खेत नदी कटानले वगरमा परिणत भएको छ भने नदी नै खेत भएको स्थानमा वगिरहेको छ ।‘पहिले खेत भएको स्थानमा अहिले नदी वगिरहेको छ ’पौडलले भन्नुभयो ।‘यस्तो होला भनेर सोचेको पनि थिईन् ’
माझी र पौडेल प्रतिनिधि परिवार मात्रै हुन् । यस नदी कटानबाट यी दुई वडाका ३ सय बढी घरपरिवार सुकुम्वादी हुने अवस्थामा पुगेका छन् । वर्षेनी उर्लेर आउने नदीको बाढीका कारण खेतविहिनहुँदै गएपछी ज्याला मजदुरी गरेर खानुपर्ने अवस्थामा स्थानीय आईपुगेका छन् ।
वडा नम्बर २ को सिमानपुर , कल्याणपुर , ददरिया, खोक्सा , गराँस र वडा नम्बर १ को वेलसोत , कालीखोला , चौफाल , तिम्नाही गाउँका कृषकहरु नदी कटानका कारण जग्गा जमिन विहिन हुँदै गएका छन् । ठूलो क्षेत्र र नदी कटानको समस्या ठुलो हुँदै गएकाले यसलाई नगरले मात्रै समााधान गर्न सक्ने अवस्था नरहेको नगरपालिकाकी उपमेयरले गिता खड्काले बताउनुभयो । ‘समस्या ठूलो छ , यसलाई नगरसँगै माथिल्लो तहबाट नै दिर्घकालिन समस्या समाधानका कार्यक्रम ल्याउनुपर्छ ।’
कमला र तावा नदीको वर्षेनीको कटानका कारण खेतियोग्य जमिन वगरमा परिणतहुँदै गएपछी खेतिवाटै खान पुग्ने परिवार पनि अहिले खानकै लागि पनि समस्या भोग्नुपर्ने अवस्थामा आईपुगेका छन् ।


जनता भ्वाइस 







